रसीद आलम
बिरगंज, ३१ बैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको नेतृत्वमा फरार प्रतिवादीहरू पक्राउ गर्ने विशेष अभियान सञ्चालन गरेको छ। सोही अभियानअन्तर्गत प्रहरीले एकै दिनमा विभिन्न मुद्दामा फरार रहेका १९५ जना प्रतिवादीलाई पक्राउ गरेको हो।
पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएका फैसलाहरू कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाइहरूबाट गठन गरिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले २०८२ साल बैशाख ३० गतेका दिन फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरेको प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन्।
प्रहरीको यो कदमले कानूनको शासन सुनिश्चित गर्ने दिशामा ठोस सफलता प्राप्त भएको बताइएको छ।
