रसीद आलम।
वीरगञ्ज, १ जेठ — रौतहट जिल्लामा पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएका पत्रकार फणिदेव महतको ४६ वर्षको अल्पायुमै असामयिक निधन भएको छ। दुई वर्षदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका महतको २०८२ साल वैशाख ३० गते, मंगलवार राति १०:३० बजे काठमाडौंस्थित माइतीघरको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो।
स्व. महत अन्नपूर्ण पोस्ट दैनिक, रेडियो सुप्रिमलगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध रहनुका साथै नेपाल पत्रकार महासंघ रौतहट शाखाका सक्रिय सदस्य समेत हुनुहुन्थ्यो। उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मेहनती, निडर र जुझारु पत्रकार गुमाएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, सञ्चारग्राम काठमाडौंले एक शोक विज्ञप्ति जारी गर्दै महतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। महासंघले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
करीब दुई दशकदेखि रौतहटमा पत्रकारिता गर्दै आउनुभएका महतका श्रीमती र दुई छोरा छन्। उहाँको योगदान सदैव नेपाली पत्रकारिता इतिहासमा सम्झनलायक रहनेछ।
