पर्सा, जेठ ११ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८२ साल जेठ ११ गते विहान ११:३० बजे वीरगंज महानगरपालिका वडा नं.१६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पर्साको प्राङ्गणमा एक महत्वपूर्ण जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
पर्सा प्रहरीका वडा प्रहरी कार्यालय बिर्ता तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको संयुक्त आयोजनामा र विद्यालयको सहकार्यमा सम्पन्न सो कार्यक्रममा “साइबर अपराध तथा साइबर सुरक्षा” विषयमा विद्यार्थीहरुलाई सशक्त जानकारी दिइयो।
कार्यक्रम सामुदायिक सेवा केन्द्र कुम्हालटोलकी सभापति श्रीमती सन्जु दाहालको अध्यक्षता र वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको प्रशिक्षणमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रम विद्यालयका कक्षा ८ र ९ का छात्र तथा छात्राहरुको सहभागितामा आयोजना गरिएको थियो। कार्यक्रममा छात्र १६ जना र छात्रा ५६ जना गरी जम्मा ७२ जना विद्यार्थीहरुको सक्रिय उपस्थिति रह्यो।
प्रशिक्षण सत्रमा प्रहरी निरीक्षक चौलागाईंले वर्तमान समयमा इन्टरनेट प्रयोगसँगै बढ्दो साइबर अपराधको अवस्था, यसको खतराहरु, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, गोपनीयता संरक्षण, पासवर्ड सुरक्षालगायत महत्वपूर्ण बिषयहरुमा विद्यार्थीहरुलाई सचेत बनाएका थिए।
कार्यक्रमले विद्यार्थीहरुमा डिजिटल दुनियाँप्रति सजगता, सतर्कता र जिम्मेवारीपूर्ण प्रयोगको भावना विकास गर्न सहयोग पुर्याएको विद्यालय प्रशासनले जनाएको छ। सामुदायिक प्रहरी साझेदारी अन्तर्गत यस्ता कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास समेत व्यक्त गरिएको छ।
सामाजिक सुरक्षाको सुदृढीकरण तथा युवा पुस्तामा साइबर अपराधको असरबारे चेतना फैलाउने उद्देश्यले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजक संस्थाहरुले जानकारी दिएका छन्।
