सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ

समाचार

काठमाडौं, असार ८ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा आज “सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२” शुभारम्भ भएको छ । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा आयोजित समारोहमा प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोविन्द थापा र अन्य यातायात व्यवसायीहरूले मनसुनजन्य विपद् कम गर्न सबै पक्ष सतर्क हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले मनसुनको समयमा सडकको अवस्था र मौसमसम्बन्धी सूचना लिएर मात्र यात्रा गर्दा दुर्घटनाको जोखिम कम हुने बताए । महासंघका अध्यक्ष स्वाँरले यस वर्ष भारी वर्षा हुने सम्भावना रहेकोले वर्षात्को समयमा यात्रामा निस्किनुअघि मौसमसम्बन्धी जानकारी लिन सबैलाई अनुरोध गरे ।

अभियानअन्तर्गत काठमाडौं उपत्यकाबाट बाहिरिने १२ मुख्य स्थानहरू — नयाँ बसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यस्ता सहायता कक्षहरूबाट सवारी चालक तथा यात्रुहरूले सडक र मौसमसम्बन्धी ताजा जानकारी लिनुका साथै सावधानीका उपाय अपनाउन सक्नेछन् ।

त्यस अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बाढी, पहिरो तथा अन्य विपद्का कारण उत्पन्न हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न नागरिक सहायता कक्ष स्थापना गरिएको बताए ।

कार्यक्रममा नेपाल प्रहरी, यातायात व्यवसायी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारण गरी झन्डै ५०० जना सहभागी थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *