रक्सौलको मितेरी पुल सिमानामा ह्यान्ड ग्रेनेड भेटिएपछि सुरक्षा सतर्कता बढाइयो

समाचार

रक्सौल, असार ११ । भारत–नेपाल सिमानास्थित रक्सौल कस्टम क्षेत्रमा बुधबार बिहान ह्यान्ड ग्रेनेड भेटिएपछि सुरक्षा निकायमा हडकम्प मच्चिएको छ। वीरगञ्ज जोड्ने मैत्री पुल नजिकैको भारतीय कस्टम क्षेत्रमै ग्रेनेड फेला परेपछि इलाकालाई उच्च सतर्कता अपनाएर घेराबन्दी गरिएको थियो।

स्थानीय स्रोतका अनुसार मैत्री पुल नजिक खेलिरहेका बालबालिकाले ह्यान्ड ग्रेनेड देखेपछि हल्ला मच्चाएका थिए। खबर पाउनासाथ सीमा सुरक्षा बल (एसएसबी), भारतीय कस्टम तथा स्थानीय प्रहरी तत्काल घटनास्थल पुगेका थिए।

एसएसबीका जवानले क्षेत्रलाई सुरक्षात्मक घेरामा राख्दै एम्बुलेन्स र दमकलका सवारीसाधनहरू पनि तयारी अवस्थामा राखिएको थियो। साथै बम डिस्पोजल टोलीलाई समेत बोलाइएको थियो। बम डिस्पोजल टोलीले ग्रेनेडलाई सुरक्षित रूपमा सो क्षेत्रबाट हटाएको स्थानीय सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन्।

यस घटनापछि सीमा क्षेत्रमा त्रास फैलिएको छ भने दुवै देशका सुरक्षा निकाय अझ सतर्क बनेका छन्। ग्रेनेडको उत्पत्ति तथा अन्य विवरणबारे अनुसन्धान भइरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *