वीरगञ्जमा भन्सार छली अवैध चकलेट तथा अन्य सामान बरामद, आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइयो

समाचार

रसीद आलम ,वीरगञ्ज, असार १२ । जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका अन्तर्गत विभिन्न स्थानबाट भन्सार छली अवैध सामान बरामद भएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा वीरगञ्ज भन्सार कार्यालयसँगको संयुक्त टोलीले वीरगञ्ज म.न.पा. वडा नं. १०, आदर्शनगरस्थित श्री दुर्गा रोड क्यारियर्सको गोदाममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी-पैठारी गरी ल्याइएका १५ कार्टुन चकलेट र वडा नं. १० मै रहेको श्री पशुपति रोड क्यारियर्स नेपाल प्रा.लि.को गोदाममा रहेका १८ कार्टुन चकलेट गरी जम्मा ३३ कार्टुन (मूल्य रु. ७९,२००/-) नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका चकलेटको कागजात परीक्षण गर्दा बिरगंज  वडा नं. १६, नगवास्थित खुशी एस. इन्टरप्राइजेजले मिति २०८२ असार ११ गते काटेको बिल नं. १२३ को VCTS लगायतका कागजात तथा भन्सार प्रज्ञापन पत्र जारी भएको मिति र सामानको उत्पादन मिति फरक देखिएको थियो । सोही आधारमा अवैध सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।

यसैगरी  असार १२ गते वीरगञ्ज म.न.पा. वडा नं. ६, रेल वे रोडस्थित साईराम इम्पेक्सको स्थायी लेखा नं. ६२०५४४५४० रहेको गोदाममा भारतबाट भन्सार छली चोरी-पैठारी गरी अवैध रुपमा भण्डारण गरी राखिएको चिनी, मिठा, दाल, पूजा मिश्री, सिसाको गिलास तथा नरिवल गरी जम्मा रु. १,१३,०००/- बराबरको सामान पनि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।

बरामद सामान आवश्यक अनुसन्धान तथा थप कानूनी प्रक्रिया पूरा गर्न वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी सिंहले बताए ।

अवैध सामान ओसारपसार तथा चोरी-पैठारी नियन्त्रण गर्न सुरक्षाकर्मीले नियमित गस्ती तथा सूचनाका आधारमा अपरेसनलाई थप सशक्त बनाउँदै लगेका छन् सशस्त्र पर्साका एसपी राधेश्याम धिमालले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *