आर्थिक अपराध नियन्त्रणतर्फको सशस्त्र प्रहरी पर्सा सकृय ,हुण्डी कारोबार ध्वस्त हुदै चालु आवको ११ महिनामा ३८ करोडभन्दा बढीका अबैध सामान बरामद

समाचार

रसीद आलम ।

वीरगञ्ज, असार १४
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, हेडक्वार्टर पर्साले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३८ करोड २७ लाख ७९ हजार ८९० रुपैयाँ बराबरको भन्सार छली तथा बिलबीजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको सक्रियता र सतर्कताले अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल भएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) तथा गणपति राधेश्याम धिमालले जानकारी दिएका छन्।

उनका अनुसार, अघिल्लो आर्थिक वर्षभरिमा १४ करोड ९९ लाख ५ हजार ५२८ रुपैयाँ बराबरका सामानहरू बरामद गरिएका थिए। तर चालु आवको ११ महिनामै उक्त परिमाण झण्डै दुई गुणाले वृद्धि भई २७ करोड ५६ लाख ५६ हजार ४८७ रुपैयाँ मूल्य बराबरका सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएका छन्।

एसपी धिमालले बताएअनुसार सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालयसँगको सहकार्यमा शंकास्पद गोदामहरूको अनुगमन, सीमाक्षेत्रमा गस्ती, सघन निगरानी तथा प्रविधिको प्रयोगमार्फत भन्सार छलीका सामानहरूको नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको हो।

चालु आर्थिक वर्षको जेठ १० गतेसम्मको अवधिमा मात्र १० करोड ७१ लाख २३ हजार ४०३ रुपैयाँ मूल्य बराबरका बिलबीजक नभएका सामानहरू राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ। अघिल्लो आवमा यसै किसिमका १९ करोड ३८ लाख २९ हजार ७५६ रुपैयाँ मूल्य बराबरका सामानहरू अनुसन्धान कार्यालयमा बुझाइएको थियो। यद्यपि चालु वर्षको परिमाण केही कम देखिए पनि सुरक्षाकर्मीको सक्रियता अझ उल्लेखनीय रहेको धिमालले स्पष्ट पारे।

त्यस्तै, चालु आर्थिक वर्षमा सशस्त्र प्रहरीले १ करोड १५ लाख ९४ हजार ५२२ रुपैयाँ बराबरको स्रोत नखुलेको रकम (हुन्डी) समेत बरामद गरेको छ। अघिल्लो वर्ष हुन्डी कारोबार अन्तर्गत ७९ लाख २६ हजार २६५ रुपैयाँ मात्र बरामद गरिएको थियो। यसले पनि आर्थिक अपराध नियन्त्रणतर्फको सशस्त्र प्रहरीको कार्यक्षमता झल्किन्छ।

साथै, चालु वर्षमा ४२ लाख रुपैयाँ बराबरको १ हजार ५ सय ९६ क्युफिट काठ बरामद गरिएको छ। गत आवमा यसरी बरामद गरिएको काठ १ हजार ५ सय ५४ क्युफिट थियो, जसको मूल्य ४० लाख ९३ हजार ३५५ रुपैयाँ थियो।

एसपी धिमालका अनुसार पछिल्लो समयमा सिमा नाकामा सिसिटिभी क्यामेरा, तालिमप्राप्त कुकुर (K9 यूनिट) र प्रविधिमा दक्ष जनशक्ति परिचालन गरिएकोले चोरी–पैठारी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको हो। सीमाक्षेत्रको व्यवस्थापन, अनुगमन र समन्वयमा अझ कडाइ गरिएकाले आगामी दिनमा यस किसिमको गैरकानुनी कारोबारलाई थप नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

सशस्त्र प्रहरी बलको यो सक्रियता सीमाक्षेत्रमा शान्ति, सुरक्षाको प्रत्याभूति मात्र नभई राज्यको राजस्व सुरक्षामा समेत महत्वपूर्ण भूमिका खेलेको प्रमाणित भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *