पर्सा, असार १५ – सशस्त्र प्रहरी बल, नेपाल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको सामानसहित एक मोटरसाइकल बरामद गरेको छ। बरामद गरिएका सामग्रीको मूल्य करिब २ लाख रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) कृष्ण सिंह पुजाराको नेतृत्वमा खटिएको टोलीले मिति २०८२ साल असार १५ गते पर्सा जिल्लाको बिन्दाबासिनी गाउँपालिका–४, बरुवा चोकस्थित अम्मरपट्टी सीमावर्ती क्षेत्रबाट ती सामान बरामद गरेको हो। प्रहरीले विशेष सूचनाको आधारमा शंका लागेका व्यक्तिहरूको गतिविधिमा निगरानी राखी उक्त सामग्रीहरू नियन्त्रणमा लिएको बताइएको छ।
बरामद गरिएका वस्तुहरूमा ठूलो परिमाणमा चकलेट र एक थान मोटरसाइकल रहेका छन्, जसको अनुमानित मूल्य २ लाख रुपैयाँ बराबर छ। प्रारम्भिक अनुसन्धान अनुसार ती सामग्रीहरू भारतबाट चोरी पैठारी गरी नेपाल भित्र्याउने प्रयत्न गरिएको थियो।
सशस्त्र प्रहरीले बरामद गरिएका सबै सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा दाखिला गरिसकेको जानकारी दिएको छ।
सीमा क्षेत्र हुँदै भइरहेको अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले निगरानी र गस्तीलाई अझ प्रभावकारी बनाएको छ। सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा कडाइ गर्दै अवैध क्रियाकलापमा संलग्न हुनेहरूलाई कानूनी दायरामा ल्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जनाएको छ।
