पर्सा–१ का सांसद तथा मन्त्री यादवद्वारा वीरगञ्ज महानगरलाई दुई पिकअप गाडी हस्तान्तरण

समाचार

वीरगञ्ज, असार २० ।
पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा खानेपानी मन्त्री माननीय प्रदीप यादवले वीरगञ्ज महानगरपालिकालाई दुई थान पिकअप गाडी हस्तान्तरण गरेका छन्।

सार्वजनिक सेवा प्रणालीलाई थप प्रभावकारी, छरितो र जनमैत्री बनाउने उद्देश्यका साथ मन्त्री यादवले वीरगञ्ज महानगरपालिकालाई उक्त गाडीहरू उपलब्ध गराएका हुन्। एक औपचारिक कार्यक्रममार्फत उनले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई गाडीहरू हस्तान्तरण गरेका हुन्।

महानगरपालिकाका प्राविधिक काम तथा अन्य सार्वजनिक सेवा प्रवाहमा ती गाडीहरू प्रयोग गरिने जनाइएको छ।

कार्यक्रममा मन्त्री यादवले स्थानीय तहलाई सक्षम र सबल बनाउनु नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै भने, “स्थानीय तह सक्षम भए मात्र विकासको गति तीव्र हुन्छ। यो सहयोग त्यसैको एउटा सानो प्रयास हो।”

गाडी प्राप्तिपछि मेयर सिंहले सामाजिक सञ्जालमार्फत मन्त्री यादवप्रति आभार व्यक्त गर्दै लेखेका छन्, “धन्यवाद छ नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवज्यू ! वीरगञ्ज महानगरपालिकालाई दुई (२) थान पिकअप गाडी उपलब्ध गराई दिनुभएकोमा।”

उक्त सहयोगबाट नगरवासीहरूलाई अझ छिटो, प्रभावकारी र पहुँचयुक्त सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *