सिमरा प्रहरीले एक महिनामा गर्‍यो ठूला उपलब्धि: डिएसपी जोशीको कमान्डमा १९ फरार पक्राउ, २ करोडभन्दा बढीको सामान बरामद

समाचार

रसीद आलम

बारा, ३१ असार ।
जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीको नेतृत्वमा छोटो समयमै उल्लेखनीय सफलता प्राप्त भएको छ।

डिएसपी जोशीले गत जेठ २३ गते इलाका प्रहरी कार्यालय सिमराको कमान्ड सम्हालेसँगै सक्रिय रूपमा कानुनी कार्यान्वयन र तस्करी नियन्त्रण अभियानमा जुटेका थिए। एक महिनाको अवधिमा उनले कमान्डिङ्ग गरेको प्रहरी टोलिले १९ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएका छन् भने २ करोड ६२ लाख ८७ हजार ९ सय ४६ रुपैयाँ बराबरको तस्करीको सामान बरामद गरी भन्सार तथा राजस्व कार्यालयमा बुझाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये १० जना अदालतबाट फैसला भइसकेका मुद्दामा फरार रहेका थिए भने बाँकी ९ जना विभिन्न मुद्दामा संलग्न रही फरार रहेका थिए। डिएसपी जोशीको नेतृत्वमा फरार अभियुक्तहरूलाई खोजी गरी नियन्त्रणमा लिइ अदालतमा पेश गरिएको हो।

डिएसपी जोशीले नेतृत्व सम्हालेदेखि नै आफ्ना इलाकामा शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यले अभियानहरू तीव्र पारेका छन्। यस क्रममा उनले तस्करीका गतिविधिहरूलाई समेत निष्क्रिय पार्दै विभिन्न किसिमका भन्सार छलीका सामग्रीहरू बरामद गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले सञ्चालन गरेको ‘फरार प्रतिवादी पक्राउ अभियान’लाई डिएसपी जोशीले प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेका छन्।

डिएसपी जोशीले मिति २०८२ साल जेठ २३ गतेदेखि हालसम्म आफ्ना टोलीमार्फत बरामद गरेका सामग्रीहरूमा भन्सार छली गरिएका लत्ताकपडा, विद्युतीय उपकरण, लगायतका सामग्रीहरू तथा विभिन्न सवारी साधनहरु रहेका छन्। ती सबै सामग्रीहरू आवश्यक कागजातसहित सम्बन्धित निकायमा बुझाइएको बारा प्रहरीले जनाएको छ।

सक्रियता, जवाफदेहिता र दृढ इच्छाशक्तिका साथ अघि बढिरहेका डिएसपी जोशीप्रति स्थानीयवासीहरू तथा सुरक्षा निकायका उच्च अधिकारीहरू समेत सन्तुष्ट देखिएका छन्। सिमरा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्दै गैरकानुनी गतिविधिहरू नियन्त्रणमा ल्याउने डिएसपी जोशीको यो पहललाई उदाहरणीय मानिएको छ।

बारा प्रहरीले हालैका दिनहरूमा अपराध नियन्त्रण र भन्सार छली रोकथाममा उल्लेखनीय सफलता प्राप्त गर्दै आएको छ, जसमा डिएसपी जोशीको भूमिका उल्लेखनीय छ। यसले जिल्लामा कानूनको शासन बलियो बनाउने कार्यमा महत्वपूर्ण टेवा पुर्‍याएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *