श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा संघीय सरकारको गम्भीर पहल : मन्त्री प्रदीप यादव

समाचार

वीरगंज, ९ साउन ।
पर्सा जिल्लाको प्रमुख नदीमध्ये एक श्रीसिया नदीको प्रदूषण नियन्त्रणका विषयमा साउन ८ गते, बिहीबार वीरगंजमा एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रम वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा आयोजना गरिएको थियो।

संघीय खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मन्त्री यादवले नदीको संरक्षण तथा प्रदूषण नियन्त्रणका उपायहरूबारे गहन विचार प्रस्तुत गर्दै समस्या समाधानका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे।

मन्त्री यादवले दिनानुदिन बढ्दै गएको प्रदूषणको अवस्था गम्भीर रहेको उल्लेख गर्दै यसको तत्काल तथा दीर्घकालीन समाधानका लागि संघीय सरकार आवश्यक कदम चाल्न तत्पर रहेको प्रतिबद्धता जनाए।

उहाँले एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा खानेपानी मन्त्रालयको सहलगानीमा बजेट विनियोजन गरी कार्य योजना तयार पारिने जानकारी समेत गराए।

श्रीसिया नदीको संरक्षणमा नगरपालिकाको अग्रसरता आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले वीरगंज महानगरपालिकालाई आवश्यक प्रस्ताव जतिसक्दो चाँडो पेश गर्न आग्रह गरे।

मन्त्री यादवले स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा मात्रै दीगो समाधान सम्भव हुने स्पष्ट पार्दै नदीको प्रदूषण नियन्त्रणका लागि खानेपानी मन्त्रालय आवश्यक सबै पहल गर्न तयार रहेको प्रतिबद्धता जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *