रसीद आलम
पर्सा, १५ साउन ।
सशस्त्र प्रहरी बल, नेपाल मधेस प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालको निर्देशनमा सञ्चालित तस्करी नियन्त्रण अभियान अन्तर्गत पुनः एक पटक उल्लेखनीय सफलता हात परेको छ।
सोही अभियानको निरन्तरता स्वरूप सशस्त्र प्रहरी बल पर्साको कमाण्ड सम्हालिरहेका एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छल्दै ल्याइएका करिब १९ लाख ४२ हजार ३ सय रुपैयाँ बराबरको कपडा तथा तस्करीमा प्रयोग गरिएको बोलेरो पिकअप सवारीसहित बरामद गर्न सफल भएको छ।
साउन १५ गते बिहान, पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवा स्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले चेकजाँचको क्रममा उक्त बरामदगी गरेको हो।
सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट लुकाईछिपाई ल्याइँदै गरेको प्रदेश २-०३-००१ च ३०४६ नम्बरको बोलेरो पिकअपमा ठूलो परिमाणको कपडा लोड गरिएको अवस्थामा फेला पारेको थियो।
सशस्त्र प्रहरी स्रोतका अनुसार, चेकजाँचको समयमा सुराकी सूचनाका आधारमा पिकअप सवारीलाई रोकेर जाँच गर्दा भित्र ठूला बोरामा प्याक गरिएको विभिन्न प्रकारका रेडिमेड तथा रोल कपडा भेटिएको थियो। सो क्रममा सवारी चालक भने प्रहरीले रोक्ने बित्तिकै सवारी साधन त्यहीँ छोडेर भाग्न सफल भएको बताइएको छ।
बरामद गरिएको कपडा तथा पिकअप सवारीलाई आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया पुर्याउनका लागि पर्सास्थित वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिएका छन्।
मधेस प्रदेशको सीमा क्षेत्रमा तस्करीका घटनाहरू बढिरहेको सन्दर्भमा सशस्त्र प्रहरी बलले उच्च सतर्कता अपनाउँदै आएको छ।
डिआईजी ढकालले सीमामा हुने अवैध क्रियाकलाप तथा आर्थिक अपराधहरू नियन्त्रण गर्न तस्करी नियन्त्रण अभियानलाई अझ कडा बनाइएको उल्लेख गर्दै आवश्यक परे थप जनशक्ति र प्रविधि प्रयोग गरिने जानकारी दिएका छन्।
यो सफलतासँगै सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा आफ्नो उपस्थिति अझ मजबुत बनाएको देखिएको छ भने तस्करहरूको मनोबलमा ठूलो असर परेको विश्वास गरिएको छ।
