रसीद आलम
बारा, १६ साउन ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराको नेतृत्वमा बारामा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीको निर्देशनमा सञ्चालित उक्त अभियान अन्तर्गत ठूलो मात्रामा अवैध सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ।
सशस्त्र प्रहरी स्रोतका अनुसार, हालैको अभियानमा बाराको विभिन्न सीमावर्ती क्षेत्रहरूबाट करिब ८ लाख रुपैयाँ बराबरको अवैध सामानहरू नियन्त्रणमा लिइएको हो। ती सामानहरू भारतबाट चोरीपसार गरी ल्याइएको आशंकामा नियन्त्रणमा लिइएको बताइएको छ।
यस्तो छ बरामद विवरण:
🔹 पचरौता नगरपालिका–७, बेनौली बाट आज विहान मोटरसाइकलसहित कम्प्युटर पार्ट्स (जसमा मुख्यतया सीपीयू कूलर फ्यान लगायतका उपकरणहरू) बरामद गरिएको छ। उक्त सामानहरूको अनुमानित मूल्य ६ लाख ३७ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
🔹 बिश्रामपुर गाउँपालिका अन्तर्गत घोडासहन, बलिरामपुर र मुसर्वा सीमा क्षेत्रबाट तस्करी गरी ल्याइएको जुत्ता-चप्पल, तन्ना, लेडिज कुर्ता तथा ट्र्याक्टर पार्ट्स बरामद गरिएको छ, जसको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ बराबर छ।
🔹 सिम्रौनगढ नगरपालिका–६, अमरपुर बाट ३५ हजार रुपैयाँ बराबरको मोबाइल टेम्पर ग्लास तथा कम्प्युटर सीपीयूमा प्रयोग गरिने ४०० पिस कूलर फ्यान बरामद गरिएको सशस्त्र प्रहरीको भनाइ छ।
उक्त सबै अवैध सामानहरू सशस्त्र प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाएको छ।
कडाइका साथ तस्करी नियन्त्रण गर्दै सशस्त्र
गणपति एसपी केसीको निर्देशनमा बाराको विभिन्न नाकामा कडाइका साथ निगरानी तथा गस्ती बढाइएको छ। सीमावर्ती क्षेत्रहरूमा सशस्त्र प्रहरीको चेकजाँच तथा गस्ती थप कडा बनाइएको छ, जसका कारण तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलले जनताको सुरक्षाका साथै आर्थिक क्षति न्यूनीकरण गर्न तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्ने जनाएको छ। सीमामा हुने यस्ता गैरकानुनी क्रियाकलाप रोक्नका लागि सशस्त्र प्रहरीको तर्फबाट अझै प्रभावकारी कदम चालिने जनाएको छ।
यस प्रकारको प्रभावकारी अभियानले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अझ मजबुत भएको देखिन्छ।
