बारा, साउन १९ ।
जिल्ला बारा निजगढ नगरपालिका वडा नम्बर ८ तामागढी गेटस्थित पूर्व–पश्चिम राजमार्गको सडक खण्डमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
मिति २०८२ साल साउन १३ गते राति ११:०५ बजे इलाका प्रहरी कार्यालय निजगढमा सूचना प्राप्त भएअनुसार राजमार्गको उत्तरतर्फ एक जना पुरुष घाइते र अचेत अवस्थामा लडेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा कालो टिसर्ट, कालो पाइन्ट, कालो बुट र आर्मी कलरको झोला साथमा रहेका अन्दाजी २०–२२ वर्षका युवक टाउकोमा गम्भीर चोटपटक लागेको अवस्थामा भेटिएका थिए।
प्रहरीले तत्कालै उनलाई उद्धार गरी निजगढको सामुदायिक अस्पताल पुर्याएको थियो। त्यहाँबाट अवस्था गम्भीर भएकाले एल.एस. न्युरो अस्पताल रिफर गरिएको थियो। उपचारको क्रममा साउन १४ गते अपराह्न ४:०० बजे ती युवकको मृत्यु भएको थियो।
पछिल्लो अनुसन्धानमा मृतक युवक बारा जिल्ला कोहल्बी नगरपालिका वडा नम्बर ५ का २० वर्षीय समिर चौधरी रहेको खुलेको छ।
प्रहरी अनुसन्धानमा मृतक चढेको बा.प्र.०३–००१ ख ३८३७ नम्बरको पिंक रंगको ‘न्यू डायमण्ड’ यात्रुबाहक बसको सीसीटीभी फुटेजको आधारमा समिर राति ११:५९:५९ मा सकुशल बसबाट झरेको देखिएको छ। झरेपछि केही कदम हिँडेपछि ट्रकको ठक्करबाट दुर्घटना भएको खुलेको छ।
सीसीटीभी फुटेज र घटनास्थलको निरीक्षणको आधारमा घाइतेको निधारमा ट्रकको चुच्चो फलामको भागले लागेर गम्भीर चोट लागेको आशंका गरिएको थियो। अनुसन्धानकै क्रममा को.१ ख.७८०८ नम्बरको ट्रकले ठक्कर दिएको पुष्टि भएको प्रहरीले जनाएको छ।
उक्त ट्रक र चालक सन्दीप कुमार भण्डारीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय निजगढमा ल्याएर सोधपुछ गर्दा उनले दुर्घटनाको स्वीकारोक्ति दिएका छन्। हाल उनलाई म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
