पर्सा, साउन २६ ।
जिल्ला पर्सा, वीरगञ्जमा तैनाथ सशस्त्र प्रहरी बलले आज अवैध तस्करीविरुद्ध दुई छुट्टाछुट्टै कारबाही गर्दै करिब रु. ३ लाख १५ हजार १ सय ९० बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
पहिलो कारबाहीमा, वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको गाडीमोबाइल टोलीले भारतबाट भन्सार छली लुकाई–छिपाई ठेलामा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको हार्डवेयर सामान बरामद गरेको हो। उक्त सामानको भन्सार मूल्य रु. २,३१,६०० रहेको जनाइएको छ। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।
त्यस्तै, दोस्रो कारबाहीमा, जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–७ रेल्वेरोडस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण, हे.क्वा. पर्साबाट खटिएको गाडीमोबाइल टोलीले भारतबाट अवैध रुपमा ल्याइएको कपडा र चल्केट बरामद गरेको छ। ती सामान रेल्वेरोड नजिकैको गल्लीमा बेवारिसे अवस्थामा लुकाइ–छिपाई राखिएको अवस्थामा फेला परेको हो। बरामद गरिएको कपडा र चल्केटको भन्सार मूल्य रु. ८३,५९० रहेको र उक्त सामान पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिएका छन्।
सशस्त्र प्रहरीले सीमाक्षेत्रमा तस्करी नियन्त्रण तथा भन्सार छली रोकथाममा सक्रियतापूर्वक कारबाहीलाई तीव्र पारेको बताउँदै, यस्ता अभियान निरन्तर जारी रहने जनाएको छ।
