काठमाडौं, ४ भदौ ।
“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२” अन्तर्गत केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार के.सी. नेतृत्वको टोलीले जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुगमन तथा निरीक्षण सम्पन्न गरेको छ ।
अनुगमनका क्रममा टोलीले परिसरका भौतिक पूर्वाधार, अपराध नियन्त्रण तथा अनुसन्धान रणनीति, प्राप्त उपलब्धि, श्रोत–साधनको व्यवस्थापन, प्राविधिक र सूचना–प्रविधिको प्रयोग, मानव स्रोत क्षमतावृद्धि, प्रशासनिक दक्षता र आन्तरिक नियन्त्रण प्रणालीलगायतका पक्षबारे विस्तृत जानकारी लिएको थियो ।
साथै, विपद् व्यवस्थापन, अपराध अनुसन्धानमा अपनाइने नविनतम प्रविधि, समुदाय–प्रहरी साझेदारी, अपराध निवारणका जनचेतनामूलक कार्यक्रम तथा पीडितमैत्री सेवाहरूको अवस्थाको प्रत्यक्ष अवलोकन गरिएको थियो ।
कार्यक्रमपछि जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले परिसरमा कायम शान्ति–सुरक्षाको अवस्था, जिल्लामा हुने अपराधका प्रवृत्ति, सञ्चालनमा रहेका कार्यक्रम, विगतका उपलब्धि तथा आगामी योजनाबारे प्रस्तुतीकरण दिनुभयो । उहाँले संगठनात्मक सुधार, भौतिक पूर्वाधार सुदृढीकरण, जनशक्ति क्षमतावृद्धि र प्रविधि–मैत्री सेवाको विस्तारलाई विशेष प्राथमिकता दिएर अघि बढाइरहेको जानकारी दिनुभयो ।
