काठमाडौं, भाद्र २६ ।नेपाली सेनाले राजधानीका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी ठूलो मात्रामा हतियार बरामद गरेको छ। सेनाले महाराजगञ्ज क्षेत्रबाट लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गर्दै ७ नाल हतियार, ती हतियारका म्यागजिन, राउण्ड, व्युनेटलगायतका सामग्री र व्यक्तिगत सामान बरामद गरेको छ। साथै, विशेष सूचनाको आधारमा बालाजु माछापोखरी क्षेत्रबाट थप १ नाल हतियार समेत फेला परेको छ। यससँगै हालसम्म सेनाले ७३ नाल हतियार बरामद गरेको छ।
यसैबीच, काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दी र प्रहरीबीच झडप भएपनि स्थिति नियन्त्रणमा आएको छ। त्यस्तै, डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य सुरक्षा निकायको प्रयासमा नियन्त्रणमा लिन सफल भएको छ।
सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ गरि जम्मा ३०३ जनालाई पक्राउ गरेको जनाएको छ।
