वीरगञ्जमा हैजा देखिएपछि खानेपानी परीक्षणका लागि मोबाइल भ्यानसहित टोली खटाइयो : मन्त्री यादव

समाचार

रसीद आलम

वीरगञ्ज, भदौ ७ ।
वीरगञ्ज महानगरपालिकामा हैजाका बिरामी फेला परेपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले मोबाइल भ्यानसहितको प्राविधिक टोली खटाएको छ। खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा उक्त टोली आवश्यक सामग्रीसहित हैजा प्रभावित क्षेत्रमा परिचालन गरिएको हो।

मन्त्री यादवले जानकारी दिँदै भने, “वीरगञ्ज महानगरपालिकामा हैजा रोगका बिरामी भेटिएपछि त्यहाँको खानेपानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली खटाइएको छ। सरकार हैजा नियन्त्रणका लागि पूर्णरूपमा संवेदनशील छ।”

उनले थपे, “तराई–मधेसका विभिन्न स्थानमा खानेपानीको समस्या गम्भीर रूपमा देखिन्छ। यति बेला वीरगञ्जमा हैजाका बिरामी भेटिनु निकै चिन्ताजनक अवस्था हो। त्यसैले त्यहाँको खानेपानी परीक्षणका लागि टोली परिचालन गरिएको छ।”

सरकारले हैजा नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राख्दै संक्रमित क्षेत्रका खानेपानी स्रोत र आपूर्ति प्रणालीको तत्काल परीक्षण र आवश्यक सुधार गर्ने तयारी गरेको मन्त्री यादवले स्पष्ट पारेका छन्।

यससँगै वीरगञ्जवासीलाई सुरक्षित खानेपानी उपलब्ध गराउनेतर्फ प्रभावकारी कदम चालिने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *