वीरगञ्जमा कर्फ्यु समय थप खुकुलो, निषेधाज्ञा यथावत

समाचार

पर्सा, २८ भदौ ।

जेन–जी आन्दोलनपछि सृजित परिस्थिति नियन्त्रणमा आएसँगै वीरगञ्जमा जारी कर्फ्यु आदेश थप खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा समितिको बैठकपछि शनिबारदेखि बिहान ५ बजेदेखि राति ९ बजेसम्म कर्फ्यु हटाउने निर्णय गरेको हो । अब रातिको समयमा मात्र कर्फ्यु लागू हुनेछ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार, परिस्थिति सामान्य हुँदै गएपछि कर्फ्यु खुकुलो पारिएको हो । उनले भने, “अब राति मात्रै कर्फ्यु लागु हुनेछ, तर निषेधाज्ञा भने निरन्तर जारी रहनेछ ।”

पर्सा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पनि शनिबारदेखि दिनभर वीरगञ्जमा निषेधाज्ञा मात्र कायम रहने जानकारी दिए । उनका अनुसार राति अवस्था संवेदनशील हुन सक्ने भएकाले कर्फ्यु यथावत रहनेछ ।

एसपी मिश्रले घण्टाघर, माईस्थान चोक, आदर्शनगरलगायतका उच्च संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनका अनुसार सुरक्षाकर्मीहरू निरन्तर गस्तीमा खटाइएका छन् ।

बजार तथा आवतजावतमा कुनै रोकटोक नगरिए पनि भिडभाड गर्न र समूह बनाएर जम्मा हुन भने प्रतिबन्ध लगाइने उनले स्पष्ट पारे ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *