बारा सवारी दुर्घटना : दुईको मृत्यु, पाँच जना घाइते

समाचार

बारा, १५ असोज ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक हेटौडा–पथलैया सडकखण्डमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको यात्रुबाहक बस आज बिहान करिब १० बजे अचानक ब्रेक फेल भई ब्याक हुँदा सोही दिशातर्फ जाँदै गरेका दुई मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा परेर पाँच जना घाइते भएका थिए।

घाइतेमध्ये बारा फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मोटरसाइकल चालक मकेश्वर पटेल र पर्सा वीरगञ्ज–३१ का २७ वर्षीय मोटरसाइकल चालक कञ्चन कुमार पटेलकी श्रीमती २६ वर्षीया कविता देवीको उपचारका क्रममा बाटोमै मृत्यु भएको बारा प्रहरीले  जनाएको छ।

घटनामा मकेश्वर पटेलकी श्रीमती २२ वर्षीया कलिता देवी, उनकी २० महिनाकी छोरी तानेया पटेल, कञ्चन कुमार पटेल, र उनका ३ वर्षीय छोरा आयुष पटेल घाइते भएका छन्। उनीहरूलाई सहकारी अस्पताल मकवानपुर र प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ।

बस चालक सर्लाही लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ। दुर्घटनामा बससँगै पछाडि चलिरहेको एक इभी माइक्रोबसमा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो। दुर्घटनापछि सडक एकतर्फी रुपमा सञ्चालन गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *