बारा, १४ असोज ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–३ मालपोत चोकमा सोमबार बिहान भएको कार दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान करिब १०:५० बजेतिर रातो कारले बाटो काटिरहेका पैदलयात्री प्यारी साहलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । जितपुर–७ शान्तिटोलकी ६५ वर्षीया साहलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा बिहान ११:४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ठक्कर दिने बा.प्र.०१–०२५ च ६०७४ नम्बरको कार चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–८ कमानेका २९ वर्षीय नबी आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोस्ट रामवनबाट खटिएको टोलीले अनुसन्धान थालेको बाराका प्रहरीले जानकारी दिएका छन् । मृतक साहको शव नारायणी अस्पतालमै राखिएको छ ।
