काठमाडौँ महानगरका सबै वडामा निःशुल्क स्वास्थ्य सेवा : “स्वास्थ्य तपाईँको हक, हाम्रो प्रतिबद्धता” — मेयर बालेन शाह

समाचार

काठमाडौँ,२९ असोज । काठमाडौँ महानगरपालिकाले “स्वास्थ्य सबै नागरिकको अधिकार हो” भन्ने विश्वासका साथ ३२ वटै वडामा निःशुल्क स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन महानगर निरन्तर प्रतिबद्ध रहेको बताएका छन्।

काठमाडौँ महानगरका सबै वडामा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना भई नियमित रूपमा सेवा दिइँदै आएको छ। तीमध्ये १० वटामा स्वास्थ्य बीमा कार्यक्रम पनि लागू भइसकेको छ। पहिलो आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार विकासमा जोड दिइएपछि २०८०/८१ मा १ लाख २४ हजार ४४ जना नागरिकले स्वास्थ्य सेवा लिएका थिए। यो संख्या २०८१/८२ मा बढेर १ लाख ९४ हजार १९३ पुगेको छ। चालु आर्थिक वर्षको श्रावण र भदौ महिनामा मात्रै ४१ हजार ९७१ जनाले सेवा लिइसकेका छन्, जसको आधारमा यो वर्ष कम्तीमा २ लाख ५० हजार नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने अनुमान गरिएको छ।

महानगरका स्वास्थ्य केन्द्रहरूमा MBBS चिकित्सकमार्फत दैनिक उपचार सेवा दिइँदै आएको छ भने निश्चित तालिकाअनुसार विशेषज्ञ चिकित्सक सेवा पनि सञ्चालन हुँदै आएको छ। शहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट सम्भव नभएका उपचारका लागि सेवाग्राहीलाई सिभिल, वीर र टिचिङ अस्पतालमा रेफर गरिने व्यवस्था गरिएको छ। यसरी स्वास्थ्य बीमा, निःशुल्क उपचार, रेफरल सेवा र विशेषज्ञ सल्लाह सबै एकीकृत रूपमा सञ्चालनमा छन्।

महानगरले ‘आरोग्य जीवन स्वर्णिम योजना’ मार्फत प्रतिरोधात्मक स्वास्थ्य सेवामा पनि जोड दिएको छ। यस योजनाअन्तर्गत विद्यालय स्वास्थ्य शिक्षा, जनचेतना कार्यक्रम, मानसिक स्वास्थ्य, दीर्घरोग तथा सरुवा रोग नियन्त्रण, योग तथा आयुर्वेद सेवा, पोषण कार्यक्रम र खोप अभियान जस्ता गतिविधि नियमित रूपमा सञ्चालन भइरहेका छन्।

स्वास्थ्य केन्द्रहरूमा २५० भन्दा बढी किसिमका निःशुल्क औषधि, प्रयोगशाला तथा रेडियोलोजी सेवा, फिजियोथेरापी, मातृत्व सेवा र एकीकृत एम्बुलेन्स सुविधा उपलब्ध छन्।

मेयर शाहका अनुसार, “उपचार नपाएर अब कसैले ज्यान गुमाउनुपर्ने छैन। स्वास्थ्यमा लगानी भनेको नागरिकको जीवनमा लगानी हो। निःशुल्क स्वास्थ्य सेवा तपाईँको हक हो, र त्यसलाई सुनिश्चित गर्नु हाम्रो प्रतिबद्धता हो।”

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *