अध्यक्ष केपी शर्मा ओलीको आह्वान : “जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर— एमालेमा फर्किनुस्”

राजनीति समाचार

काठमाडौं, १४ कार्तिक ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश जारी गर्दै विगतमा पार्टीको निर्माण र सुदृढीकरणमा योगदान पुर्‍याएका सबै नेता–कार्यकर्तालाई पुनः एमालेमा फर्किन आह्वान गरेका छन्।

अध्यक्ष ओलीले आफ्नो सन्देशमा नेकपा (एमाले)लाई “जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार” भन्दै, पार्टीको जग बसाल्न तीन पुस्ताले गरेको बलिदानको स्मरण गरेका छन्। उनले पार्टीलाई राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र विकासको अगुवाको रूपमा चित्रण गर्दै भनेका छन्, “निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा एमाले सधैं अग्रपंक्तिमा रह्यो।”

ओलीले हाल देशको सार्वभौमसत्ता र लोकतान्त्रिक संविधानमाथि चुनौती खडा भएको उल्लेख गर्दै राष्ट्रिय एकता र स्वाभिमानको रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने बताए। उनले भने,
“आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।”

पार्टीका पुराना नेता तथा कार्यकर्ताहरूप्रति सम्बोधन गर्दै ओलीले थप भने,
“जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।”

अन्त्यमा अध्यक्ष ओलीले “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई साझा राष्ट्रिय सपना बताउँदै कोही पनि अलमलमा नपरी निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न सबैमा आग्रह गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *