मधेश प्रदेश प्रहरी प्रमुखद्वारा पर्सा जिल्लामा  निरीक्षण कार्यक्रम सम्पन्न

समाचार

पर्सा, १९ कार्तिक ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (प्र.ना.म.नि.) गोविन्द थपलियाले पर्सा जिल्लामा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ ।

मिति २०८२ साल कात्तिक १७ गते दिउँसो करिब १२:३० बजेको समयमा पर्सा जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएका प्र.ना.म.नि. थपलियाले कार्यालयका विभिन्न शाखाहरू, थुनुवा हिरासत कक्ष, ब्यारेक भवन लगायत सम्पूर्ण संरचनाहरूको अवलोकन एवं निरीक्षण गर्नुभएको थियो ।

निरीक्षणका क्रममा उहाँले पर्सा जिल्लामा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको कार्यसम्पादन, सुरक्षा व्यवस्थापन, सेवा प्रवाह र जनसहभागितामा आधारित प्रहरी सेवाको प्रभावकारिता सम्बन्धी विषयमा विशेष चासो व्यक्त गर्नुभएको बताइएको छ । साथै, उहाँले जनताप्रति उत्तरदायी र पारदर्शी सेवा प्रवाह गर्दै शान्ति सुरक्षाको दायित्व इमान्दारीपूर्वक वहन गर्न प्रहरीलाई निर्देशन दिनुभएको थियो ।

निरीक्षणपछि आयोजित ब्रिफिङ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक, मातहतका प्रहरी इकाइका इन्चार्जहरू र अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस अवसरमा प्र.ना.म.नि. थपलियाले प्रदेशस्तरदेखि जिल्ला तहसम्मको सहकार्य, अनुशासन र उत्तरदायित्वपूर्ण कार्यशैली नै प्रहरी संस्थाको पहिचान भएको उल्लेख गर्दै, पर्सा जिल्लालाई थप सुरक्षित र अपराधमुक्त बनाउन सबै प्रहरी सदस्यहरूलाई निरन्तर सक्रिय रहन आग्रह गर्नुभएको थियो ।

उक्त निरीक्षण तथा निर्देशन कार्यक्रमले पर्सा जिल्लामा कार्यरत प्रहरी सदस्यहरूमा नवउर्जा, उत्साह र प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *