जनमत पार्टी पर्साद्वारा नेपाल राष्ट्रिय माविलाई डेस्क–बेन्च हस्तान्तरण

समाचार

वीरगञ्ज, ८ मंसिर ।
वीरगञ्ज महानगरपालिका–३० स्थित लालपर्साको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई जनमत पार्टी पर्साले चार थान डेस्क–बेन्च हस्तान्तरण गरेको छ। समाजमुखी तथा लोककल्याणकारी अभियान अन्तर्गत विद्यालयमा देखिएको संरचनात्मक आवश्यकता अनुरूप पार्टीका अध्यक्ष ओमप्रकाश सर्राफको पहलमा उक्त सामग्री हस्तान्तरण गरिएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्रुप महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, क्षेत्रीय संयोजक डा. मनोज सर्राफ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, नागेन्द्र यादव, महानगर उपाध्यक्ष निरन्जन कुशवाहा, युवा नेता राजन मण्डल र अनिल शर्मा सहित स्थानीय अगुवाहरु, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उपस्थिति थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमबहादुर आचार्यले स्वागत मन्तव्य राख्दै विद्यालय पक्षबाट धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओमप्रकाश सर्राफले शिक्षालाई समाज रूपान्तरणको मूल आधार उल्लेख गर्दै विद्यालयको भौतिक पूर्वाधार अभावले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पर्ने बताउँदै सबै पक्ष एकजुट भएर शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिए।
उनले भने, “मधेस प्रदेशको शैक्षिक सूचकांक अरू प्रदेशको तुलनामा कमजोर हुनु चिन्ताको विषय हो। यस्तो अवस्थामा समुदाय, स्थानीय सरकार र राजनीतिक दल सबैले मिलेर विद्यालय सुदृढीकरणमा भूमिका खेल्न जरुरी छ।”

सर्राफका अनुसार जनमत पार्टी पर्साले आधारभूत शैक्षिक आवश्यकतामा निरन्तर सहयोग गर्दै आएको छ। “हाम्रो यो सहयोग सानो भए पनि विद्यालयको वातावरण सुधारमा टेवा पुग्ने विश्वास लिएका छौँ,” उनले भने।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *