काठमाडौ ,१९ मंसिर ।
काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ चेकपोष्टमा नियमित सवारी चेकजाँचका क्रममा आज दिउँसो करिब १:३० बजे नौ किलोग्राम लागुऔषध गाँजा सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०६१२ नम्बरको EV गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको सिट नं. ८ मा सवार मकवानपुर जिल्ला, गडी गाउँपालिका–८ डटखोला बस्ने ४१ वर्षीय श्याम पाख्रिनको साथबाट लुकाई–छिपाई ल्याइएको ९ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।
पाख्रिनलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
