पर्सा प्रहरीको ठुलो सफलता : ४ करोड ७७ लाखभन्दा बढी मूल्यका सुपारी बरामद, दुई जना पक्राउ

समाचार

वीरगञ्ज, ३ मंसिर ।
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा ओसारपसार गरिँदै आएको ठूलो परिमाणको सुपारी बरामद गर्न सफल भएको छ। प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले करिब रु. ४ करोड ७७ लाख ४० हजार बराबरका सुपारीसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको हो।

प्राप्त विशेष सूचनाका आधारमा मिति २०८२/०९/०३ गते दिउँसो करिब १२:३० बजे, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २ स्थित वाईपास रोडमा रहेको निशान्त रोनावतको दाल फ्याक्ट्री परिसरमा प्रहरी टोलीले छापा मारेको थियो। सूचनाअनुसार वीरगञ्ज भन्सार कार्यालयबाट महोत्तरी जिल्लाको बर्दिवासतर्फ पैठारी भएको देखाइएका दुई वटा कन्टेनर सुपारीहरू अवैध रूपमा अनलोड (Unloading) गरिँदै थिए।

छापामारीका क्रममा प्रहरी टोलीले

  • ना.७ ख. ७४२० नम्बरको टेलर ट्रकमा रहेको ESCU9000479 नम्बरको ‘Express Way’ लेखिएको कन्टेनर अनलोड गरिँदै गरेको अवस्थामा फेला पारेको थियो भने
  • अनलोड गर्नकै लागि रोकिराखिएको ना.४ ख. ६८३२ नम्बरको १४ चक्के टेलर ट्रकमा रहेको ESCU9000606 नम्बरको ‘Express Way’ लेखिएको अर्को कन्टेनर समेत शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट सुपारी लोड तथा अनलोड गरिएको अवस्थामा रहेको करिब १ हजार ८ सय बोरा सुपारी बरामद गरिएको छ। बरामद सुपारीको अनुमानित मूल्य रु. ४,७७,४०,०००/- (चार करोड सतहत्तर लाख चालीस हजार रुपैयाँ) रहेको प्रहरीले जनाएको छ।

प्रहरीले

  • ना.७ ख. ७४२० नम्बरको टेलर ट्रक चालक, जिल्ला बारा जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. २० निवासी बिसुन महराको छोरा अन्दाजी ४१ वर्षका राम भरोस महरा, र
  • ना.४ ख. ६८३२ नम्बरको १४ चक्के टेलर ट्रक चालक, जिल्ला बारा जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. १९ निवासी सुकदेव राउतको छोरा अन्दाजी ५१ वर्षका राम प्रसाद यादवलाई नियन्त्रणमा लिएको छ।

बरामद सुपारी, दुवै ट्रक तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यस सम्बन्धमा जानकारी दिँदै पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले निरन्तर कडाइका साथ अनुगमन तथा कारबाही गरिरहेको बताए। उनले सीमावर्ती क्षेत्रमार्फत हुने अवैध भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणमा पर्सा प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत स्पष्ट पारे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *