पर्सा, ९ पुस ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै पर्सा प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा गाँजा जस्तो देखिने पदार्थसहित एक जना व्यक्ति पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमान्डमा खटिएको विशेष टोली तथा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट परिचालित प्रहरी टोलीले मिति २०८२/०९/०९ गते दिउँसो करिब २:१५ बजेको समयमा जिल्ला पर्सा, जगरनाथपुर गाउँपालिका–२ स्थित सडकखण्डमा सवारी साधन चेकजाँच गरिरहेको थियो।
चेकजाँचका क्रममा जगरनाथपुरबाट जानकीटोलातर्फ आउँदै गरेको BR 22 BL 0632 नम्बरको मोटरसाइकललाई रोकी खानतलासी गर्दा मोटरसाइकल चालकको शरीरमा प्लास्टिकले बेरिएको अवस्थामा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३ केजी १२० ग्राम (प्लास्टिकसहित) फेला परेको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित उक्त मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्ने व्यक्ति भारत, बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, ग्राम नरकटिया वडा नं. ११ बस्ने २६ वर्षीय सुमित कुमार रहेका छन्। साथै, उनको साथबाट भारतीय नगद रुपैयाँ २६ हजार ५ सय पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका अभियुक्तविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाई थप अनुसन्धान भइरहेको छ।
एसपी सुदिप राज पाठकले पर्सा जिल्लालाई लागूऔषध कारोबारमुक्त बनाउने उद्देश्यका साथ सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा निगरानी कडा पारिएको र यस्ता अवैध गतिविधिविरुद्ध प्रहरीको अभियान निरन्तर रूपमा जारी रहने बताएका छन् ।
