सशस्त्र प्रहरी बल नेपालको रजत महोत्सव अवसरमा प्रथम पूर्व सशस्त्र प्रहरी कर्मचारी सम्मेलन सम्पन्न

समाचार

महोत्तरी,१६ पुस ।
सशस्त्र प्रहरी बल, नेपालको २५औँ वार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा प्रथम पूर्व सशस्त्र प्रहरी कर्मचारी सम्मेलन–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। सो अवसरमा नेपाल पूर्व सशस्त्र प्रहरी संघको १८औँ साधारण सभा तथा सीमासँग सम्बन्धित विविध कार्यक्रमहरू समेत आयोजना गरिएका थिए।
रजत महोत्सवका कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल, नेपालका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक (आईजिपी) राजु अर्यालले मिति २०८२/०९/१३ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, मुख्यालय वीरगञ्ज अन्तर्गत मितेरी पुल क्षेत्रमा गरिएको सीमा सौन्दर्यकरण कार्यको निरीक्षण गर्नुभयो। उक्त सौन्दर्यकरण वीरगञ्ज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको सहकार्यमा सम्पन्न गरिएको हो।

निरीक्षणका क्रममा आईजिपी अर्यालले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख तथा भारतीय समकक्षी सुरक्षा निकाय सशस्त्र सीमा बल (SSB) को १८औँ बटालियनका बटालियन कमाण्डरसँग छलफल गर्नुभयो। त्यसपछि उहाँले सोही दिन सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराको समेत निरीक्षण भ्रमण गरी बारा जिल्लाको विद्यमान सुरक्षा अवस्था तथा मातहत ईकाईहरूको कामकारवाहीबारे जानकारी लिनुभयो।

यसैक्रममा मिति २०८२/०९/१४ गते सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा आयोजित प्रथम पूर्व सशस्त्र प्रहरी कर्मचारी सम्मेलन–२०८२ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा भव्य रूपमा उद्घाटन भई सम्पन्न भयो। सो अवसरमा नेपाल पूर्व सशस्त्र प्रहरी संघको १८औँ साधारण सभा कार्यक्रम पनि एकैसाथ सम्पन्न गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी बल परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, पूर्व सशस्त्र प्रहरी महानिरीक्षकहरू सनत कुमार बस्नेत र सिंहबहादुर श्रेष्ठ, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा लगायत संघका पदाधिकारीहरू, बहालवाला तथा अवकाशप्राप्त उच्चपदस्थ अधिकृतहरू, अमर सशस्त्र प्रहरीका परिवारजन तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमबारे जानकारी सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति डिआईजी कृष्ण ढकालले दिनुभएको हो।

कार्यक्रममा बाहिनीपति डिआईजी कृष्ण ढकाल, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेत लगायत विशिष्ट व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्व राष्ट्रसेवक कर्मचारीहरूको ज्ञान, सीप र अनुभव आवश्यक पर्दा राष्ट्रका लागि उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, पेंशनप्राप्त जिम्मेवार नागरिकको हैसियतले देशलाई आवश्यकता परे योगदान दिन सबै पूर्व सशस्त्र प्रहरी कर्मचारी तयार रहनुपर्नेमा जोड दिनुभयो। संघका वरिष्ठ उपाध्यक्ष सुवोध कुमार अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा नं. १ बाहिनीका बाहिनीपति तथा मधेश प्रदेश अन्तर्गतका गणपतिहरूको समेत सहभागिता रहेको थियो।

पहिलो पटक आयोजना गरिएको यस सम्मेलनमा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूको टोलीद्वारा सलामी तथा मार्चपास, अमर तथा शहीद सशस्त्र प्रहरीको सम्मानमा मौनधारण र माल्यार्पण, उत्कृष्ट उद्यमशील पूर्व सशस्त्र प्रहरी कर्मचारी, संघका जेष्ठ सदस्य तथा सहयोगदाताहरूलाई सम्मान गरिएको थियो। साथै, वीरगति प्राप्त अमर सशस्त्र प्रहरीका परिवारजनलाई नगदसहित सम्मान प्रदान गरिएको थियो।
यसै अवसरमा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई २०० थान ट्र्याकसुट, २५० थान पी–क्याप तथा ६५ जोर स्पोर्ट्स जुत्ता वितरण गरिएको थियो।

साथै, सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयद्वारा आयोजित रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रमको अवलोकन र फिल्ड अस्पतालको स्थलगत निरीक्षण समेत गरिएको थियो। सो शिविरमा बहालवाला कर्मचारी तथा सर्वसाधारणले रक्तदान तथा स्वास्थ्य परीक्षण गराई लाभ लिएका थिए। बाहिनी परिसरमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

कार्यक्रम समापन पश्चात सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मातहत कार्यालय प्रमुखहरूलाई मधेश प्रदेशको समसामयिक सुरक्षा अवस्था, वर्तमान परिस्थितिमा सशस्त्र प्रहरी बल नेपालले निर्वाह गर्नुपर्ने भूमिका तथा सुरक्षात्मक कामकारवाही सम्बन्धी निर्देशनात्मक सम्बोधन गर्नुभयो।
यसै अवसरमा सशस्त्र प्रहरी बल परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले मानवसेवा आश्रम धनुषा, पदम भुवनेश्वरी वृद्धा आश्रम जुटपानी (लालबन्दी), तथा जेष्ठ नागरिक सेवा आश्रम हरिवन (सर्लाही) का सञ्चालकहरूलाई ५०/५० जोरका दरले जम्मा १५० जोर ट्र्याकसुट वितरण गर्नुभएको थियो।

त्यसैगरी, मिति २०८२/०९/१५ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित नं. २ बाहिनीका बाहिनीपति रहेको टोलीले सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ स्थित श्री छिन्नमस्ता भगवती मन्दिरमा दर्शन पश्चात सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हे.क्वा. सप्तरीको निरीक्षण भ्रमण गर्नुभयो। सो क्रममा उहाँले हालको सुरक्षा अवस्था तथा गण एवं अन्य ईकाईहरूको कामकारवाहीबारे जानकारी लिई कार्यरत सम्पूर्ण सकल दर्जालाई समयसापेक्ष निर्देशन दिनुभयो।
पछि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सुनसरी जिल्लाको कोशी पुल नजिक रहेको नेपाल–भारत तिनकुने सीमा नाकाको स्थलगत निरीक्षण गर्नुभयो। उक्त अवसरमा उहाँले भारतीय सशस्त्र सीमा बल (SSB) का सेक्टर मुख्यालय प्रमुख डिआईजी राजेश टिकुसँग सीमामा देखिएका समस्या तथा फरार कैदीबन्दी पक्राउका लागि आवश्यक सहकार्यबारे छलफल गर्दै सहयोगको अनुरोध गर्नुभएको थियो। त्यसपछि उहाँ कोशी प्रदेशतर्फ प्रस्थान गर्नुभएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *