रसीद आलम,बिरगंज ,२२ जेठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मातहतका बिभागहरुमा अनुगमन गरेका छन् ।अनुगमनको क्रममा देखा परेका समस्या ,अभाव तथा कमि कमजोरीलाई नियन्त्रण गर्न नीति निर्देशनमा तीव्रता ल्याएका छन् ।
काठमाडौँस्थित औषधि व्यवस्था विभाग पुगेर त्यहाँका कर्मचारीहरूसँग भेटघाट गर्दै विभागको गतिविधि, काम कारबाही, हालसम्मको प्रगति, उपलब्धि, कार्यसम्पादनका क्रममा आइएका समस्या तथा चुनौती र अगामी दिनका कार्य योजनाहरूको बारेमा जानकारी लिएका छन् ।
अनुगमनको क्रममा औषधि व्यवस्था विभागका महानिर्देशक र अन्य कर्मचारीहरूले जनशक्ति, आवश्यक बजेट अपुग हुँदा अपेक्षित काम गर्न नसकिएको मन्त्री यादवसंग दुखेसो पोखेका छन् ।
विभागले सामना गरिरहेका चुनौतीलाई समाधान गर्न प्रतिबद्ध रहेको र अन्य समस्यालाई समाधान गर्न आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापन पनि छिटै हुने मन्त्री यादवले विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै ,काठमाण्डौ स्थित प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवा दिने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामीलगायतका कुरुवाहरूसँग छलफल गरेका छन् ।
“अस्पतालबाट उपलब्ध सेवादेखि अन्य सुविधाको गुणस्तरको विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यका साथ गरिएको अनुगमन उपलब्धिमूलक रहयो,त्यहाँ कार्यरत रहनुभएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूसँग पनि कुराकानी गरेर उहाँहरूले भोग्नु परेको चुनौतीका बारेमा पनि बुझेँ ” मन्त्री यादवले भने ।
अस्पतालले भोगिरहेको जनशक्ति, उपकरण र पूर्वाधार जस्ता अभावलाई समाधान गर्न मन्त्रालयका सचिवलगायतका कर्मचारीहरूलाई निर्देशन दिएको यादवले बताएका छन्
