विराटनगर, पुस १९ गते ।
झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध कारोबार नियन्त्रणका लागि प्राप्त विशेष सूचनाको आधारमा गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
पुस १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा खटिएको अस्थायी प्रहरी पोष्टको टोलीले चार जनालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोही स्थानकी अनु बोहरा र पारस श्रेष्ठ, पाँचथर फिदिम नगरपालिका–१ का संजय लिम्बु, तथा अर्जुनधारा नगरपालिका–६ का लेखराज गुरुङ रहेका छन्। उनीहरूको साथबाट ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, सुनसरी जिल्लामा इलाका प्रहरी कार्यालय धरानले लागू औषधविरुद्धको अभियान अन्तर्गत दुई जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–१८ बाट ट्रामाडोल र स्पास्मो गरी जम्मा ९०० पिस लागू औषधसहित धरान–१० का युवराज कार्की पक्राउ परेका छन्। त्यस्तै, धरान–१३ बाट डाइजोपामका १८ एम्पुल सहित सोही स्थानका सानु सुनुवार लाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूलाई लागू औषध सम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले लागू औषधको अवैध कारोबार र दुरुपयोग नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाइने समेत जनाएको छ।
