पर्सा, २३ पुस ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको लागू औषध नियन्त्रण अभियान अन्तर्गत पर्सा प्रहरीले ठोरी क्षेत्रबाट ठूलो परिमाणमा गाँजा जस्तो देखिने पदार्थ बरामद गर्न सफल भएको छ ।
विशेष सूचनाको आधारमा मिति २०८२ साल पुस २२ गते राति करिब १०ः०० बजे जिल्ला पर्सा ठोरी गाउँपालिका–३ ब्रहमनगरस्थित हुलाकी सडकखण्डदेखि पश्चिमतर्फ जाने कच्ची सडकखण्डको छेउमा रहेको एक घर तथा आसपासको क्षेत्रबाट लागू औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो ।
इलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक मिलन विकको कमान्डमा खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा ठोरी गाउँपालिका–३ ब्रहमनगर बस्ने ४२ वर्षीय छिरिङ दोङको काठले बनेको दुई तल्ले घरको माथिल्लो तल्लाको कोठाभित्र निलो प्लास्टिकले बेरी लुकाइछिपाइ राखिएको ९५० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सो घरबाट करिब १५ मिटर उत्तरतर्फ रहेको बाझो खेतमा उखुको पातले छोपेर रातो रंगको प्लास्टिकले बेरी लुकाइछिपाइ राखिएको अवस्थामा १० वटा पोकामा प्याक गरिएको १५७ केजी गाँजा जस्तो देखिने पदार्थ समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । यसरी बरामद गरिएको कुल परिमाण १५७ केजी ९५० ग्राम रहेको छ ।
बरामद लागू औषध गाँजा जस्तो देखिने पदार्थ नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसैबीच, उक्त लागू औषध भण्डारण गरी बिक्री वितरण गर्ने उद्देश्यले राखिएको आशङ्कामा घरधनी छिरिङ दोङ फरार रहेको र उनलाई पक्राउ गर्न तदारुकताका साथ खोजतलास कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार लागू औषधको अवैध कारोबार नियन्त्रण गर्न जिल्लाभर निगरानी तथा कारबाही अभियानलाई थप प्रभावकारी बनाइएको छ । शान्ति सुरक्षा कायम गर्न तथा लागू औषध दुरुपयोग र कारोबारलाई पूर्ण रूपमा नियन्त्रण गर्न पर्सा प्रहरी प्रतिबद्ध रहेको समेत प्रवक्ता कार्कीले बताए ।
