पर्सा, २७ पुस।
लागू औषध दुरुपयोग विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–३ देकुलीस्थित ने.रा. आधारभूत विद्यालयको प्राङ्गणमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८२ साल पुस २७ गते बिहान करिब १०:०० बजे सृजनशील शिक्षा विकास केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष श्री माधव प्रसाद थारू, स्थानीय व्यक्तिहरू, युवा, बुद्धिजीवी, भद्रभलाद्मी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले लागू औषध दुरुपयोगका कारण, यसबाट व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभाव तथा यसको नियन्त्रण र रोकथामका उपायबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।
प्रशिक्षणका क्रममा प्रहरी निरीक्षक थापाले लागू औषध दुरुपयोगबाट टाढा रहन सबैले सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै युवापुस्तालाई लक्ष्य गरी यस्ता सचेतनामूलक कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमले समुदायस्तरमा लागू औषध विरुद्ध सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
