पर्सामा सशस्त्र प्रहरीको तस्करी संजालमाथि कडा प्रहार बिरगंज गुल्मका डिएसपी भण्डारीको नेतृत्वमा साढे ८ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण।

समाचार

बिरगंज, २८ पुस।
सशस्त्र प्रहरी बल, नेपालले तस्करी नियन्त्रण नीति अन्तर्गत पर्सा जिल्लामा सञ्चालन गरेको विशेष अभियानबाट संगठित तस्करी संजालमाथि कडा प्रहार गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, बिरगंज हे.क्वा. का प्रमुख डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा गएको ६ महिनाको अवधिमा करोडौँ रुपैयाँ बराबरको अवैध मालसामान नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

डिएसपी भण्डारीले २०८२ साल साउन महिनादेखि बिरगंज गुल्मको कमान्ड सम्हालेपछि तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर छापामारी तथा निगरानी अभियान सञ्चालन गर्दै आएका छन्। उनको कमान्ड अवधिमा साउनदेखि पुससम्म मात्र ८ करोड ८६ लाख ५३ हजार ६ सय ५१ रुपैयाँ बराबरको विभिन्न अवैध मालसामान बरामद गरी भन्सार कार्यालय तथा सम्बन्धित निकायमा बुझाइएको छ, जसबाट सोही बराबरको राजस्व संकलन भएको सशस्त्र प्रहरीले दाबी गरेको छ।

सोही अभियान अन्तर्गत मिति २०८२।०९।२८ गते अन्दाजी १५:११ बजे, जिल्ला पर्सा वीरगंज महानगरपालिका–०६, रेलवे रोडस्थित जय माँ दुर्गा रोड क्यारियर्स मा भारतबाट भन्सार छली अवैध रूपमा भित्र्याइएका कपडालगायतका मालबस्तु लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा छापामारी गरिएको थियो। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बिरगंजबाट स.प्र.ना.उ. पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको ९ जनाको गाडी मोबाइल टोली र वीरगंज भन्सार कार्यालयका भन्सार अधिकृत माधव भण्डारीसहित ३ जनाको संयुक्त टोलीले छापामारी गर्दा अन्दाजी रु. २ लाख ५३ हजार २०० बराबरका जुत्ता, कपडा र कफी बरामद गरी भन्सार कार्यालय वीरगंजमा बुझाइएको जनाइएको छ।


त्यसैगरी, मिति २०८२।०९।२३ गते अन्दाजी १५:२८ बजे, जिल्ला पर्सा वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित स्थायी लेखा नं. 618382062 रहेको श्री दुर्गा क्यारियर को गोदामभित्र अवैध रूपमा कपडा र जुत्ता भण्डारण गरिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी टोलीले छापामारी गरेको थियो। उक्त छापामारीका क्रममा
(१.)सटिङ कपडा १५५ रोल (२६१६ मिटर) — रु. ४,२९,४००
(२.)सुटिङ कपडा १३ रोल (१२४ मिटर) — रु. ३७,२००
(३.)बच्चाको जुत्ता ७२ जोर — रु. ३६,०००
गरी जम्मा रु. ४ लाख ६५ हजार ६ सय बराबरको मालसामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


यसै क्रममा मिति २०८२।०९।२६ गते अन्दाजी १४:१० बजे, जिल्ला पर्सा वीरगंज महानगरपालिका–१६ माईदियापोखरी क्षेत्रमा सशस्त्र प्रहरीको गाडी मोबाइल टोलीले माईदियापोखरीबाट दुर्गाहालतर्फ जाँदै गरेको ना २ स ९१२० नम्बरको ई–लोडरलाई शंका लागि चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा बिलबिजक अनुसारको परिमाणभन्दा बढी अवैध रूपमा ओसारपसार गरिएको अन्दाजी रु. ५० हजार बराबरको २१ बोरा (२१० केजी) सुकेको खुर्सानी फेला परेको थियो। ई–लोडर सहित कुल सामानको अन्दाजी मूल्य रु. ३ लाख ५० हजार रहेको जनाइएको छ। चालक व्यक्ति फरार भएपछि उक्त ई–लोडर र मालसामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालले तस्करी नियन्त्रणका लागि सूचना संकलन, निगरानी, छापामारी र संयुक्त कारबाहीलाई अझ प्रभावकारी बनाउँदै लगेको बताउँदै भविष्यमा पनि संगठित तस्करी संजाललाई पूर्ण रूपमा ध्वस्त पार्ने अभियान निरन्तर जारी रहने स्पष्ट पारेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *