ओलिले भने– ‘पब्लिक डिबेटका लागि तयार छु, आमनेसामने बहस सकारात्मक’

राजनीति समाचार

काठमाडौं,१२ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनको सन्दर्भमा प्रमुख दलका नेताबीच सार्वजनिक बहस (पब्लिक डिबेट) गर्न आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले देश बनाउने र देश जलाउने शक्तिबीच हुने प्रतिस्पर्धामा नेकपा (एमाले) देश निर्माणको पक्षमा उभिएको स्पष्ट पारेका छन्। नयाँ र पुराना सबै राजनीतिक दलहरू चुनावी मैदानमा होमिएको उल्लेख गर्दै उनले मतदातामाझ भ्रम सिर्जना गर्न सामाजिक सञ्जालमा फ्रेमिङ गरिएको प्रचार सामग्री प्रयोग हुने प्रवृत्तिप्रति पनि संकेत गरेका छन्।

उनका अनुसार सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख दलका नेताहरूबीच पारदर्शी बहसको माग उठ्नु सकारात्मक संकेत हो। देशको नेतृत्व गर्न चाहने दलहरूले आफ्नो एजेन्डा, विगतमा गरेको काम, आगामी योजना तथा रोडम्याप स्पष्ट रूपमा जनतासामु राख्नुपर्ने आवश्यकता रहेको ओलीको भनाइ छ।

यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि अघिल्लो चुनावपछि खुलेका र हालै दर्ता भएका नयाँ दलहरूले समेत प्रधानमन्त्रीका उम्मेदवार अघि सारेको उल्लेख गर्दै ओलीले यस्ता उम्मेदवारहरूबीच आमनेसामने बहस हुनुपर्ने बताएका छन्।

“हामीले विगतमा के–के गर्यौँ र अब कसरी देश बनाउने हो भन्ने एजेन्डा लिएर सार्वजनिक बहसमा उभिन म तयार छु,” उनले लेखेका छन्। साथै उनले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेताहरूलाई एउटै मञ्चमा उभ्याएर सिधा प्रश्न–उत्तर हुने पब्लिक डिबेट आयोजना गर्न आग्रह समेत गरेका छन्।

ओलीको यस अभिव्यक्तिलाई आगामी निर्वाचनमा मुद्दामुखी राजनीति र जनतामाझ स्पष्ट बहसको दिशातर्फको कदमका रूपमा हेरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *