पर्सामा अवैध गतिविधिमाथि कडा प्रहार: एसपी पाठकको नेतृत्वमा ३० लाख बराबरका सामान बरामद, ५५ केजी गाँजासहित मानिस पक्राउ

समाचार

रसीद आलम
बिरगञ्ज, १२ माघ ।
पर्सा जिल्लामा अवैध गतिविधिविरुद्ध जिल्ला प्रहरी कार्यालयले कडा कारबाही अघि बढाएको छ। प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा गरिएको विशेष कारबाहीका क्रममा करिब ३० लाख रुपैयाँ बराबरका अवैध रूपमा भन्सार चोरी पैठारी गरी भण्डारण गरिएका खुद्रा सामान बरामद गरिएको छ भने लागुऔषध गाँजासहित एक जना व्यक्तिलाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा मिति २०८२।१०।११ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर–७ रेल्वे सडकखण्डस्थित गोदाममा छापा मारिएको हो। वीरगञ्ज महानगरपालिका वडा नम्बर–५ निवासी विकास गोयलले सञ्चालन गर्दै आएको तथा बिन्दु गोयलको नाममा दर्ता रहेको एस.बी. ट्रेडिङ्ग गोदाममा भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रूपमा स्टक गरी राखिएका सामान फेला परेका थिए।

छापामारीका क्रममा अन्दाजी मूल्य ३० लाख रुपैयाँ बराबरका स्टेशनरी, किराना तथा अन्य खुद्रा सामानहरू (पेन्सिल, इरेजर, कटर, तास, टेप, बेलुन, लाईटर, रबर, जिविया, गुच्चा लगायत) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उक्त कारबाही प्रहरी निरीक्षक विक्रम सुबेदीको कमान्डमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी गरेको हो। बरामद मालवस्तुहरू आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए।

यसैबीच, पर्सा प्रहरीले लागुऔषध कारोबारविरुद्ध पनि ठूलो सफलता हासिल गरेको छ। मिति २०८२।१०।१० गते साँझ करिब ८:३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका वडा नम्बर–४ विशाल चोकस्थित एक घरमा खानतलासी गरेको थियो। उक्त घर ठोरी गाउँपालिका–४ निवासी ३४ वर्षीय सुरेश श्रेष्ठको रहेको प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ ५ पोका, तौल ५५ केजी फेला परेको थियो। बरामद गरिएको गाँजासहित सुरेश श्रेष्ठलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्लामा भन्सार चोरी, राजस्व छली तथा लागुऔषध कारोबार जस्ता अवैध गतिविधिविरुद्ध आगामी दिनहरूमा पनि कडा निगरानी र कारबाही निरन्तर जारी रहने स्पष्ट पारेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *