काठमाडौं ,२२ माघ। प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको भनी सार्वजनिक अभिव्यक्ति दिँदै अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला चितवन खैरहनी नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मिति २०८२।०५।२४ गते भएको प्रदर्शनका क्रममा उनले सिंहदरबारमा आगजनी गरेको दाबी गर्दै भीडलाई उत्तेजित बनाउने तथा आपराधिक गतिविधिमा उक्साउने अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका गौतमविरुद्ध “आपराधिक उपद्रव गर्न नहुने” कसूर अन्तर्गत अनुसन्धान अघि बढाइएको छ। यस सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट पाँच (५) दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक शान्ति, सुरक्षा र सम्पत्तिमा क्षति पुर्याउने खालका गतिविधिमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट गर्दै यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।
