पर्सा, २ फागुन ।
पर्सा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि आम जनता पार्टीका उम्मेदवार मोहम्मद ईस्तखारको चुनावी अभियान तीव्र बन्दै गएको छ। यसैक्रममा पर्साको झौवा र पर्सौनी क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरिएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार ईस्तखारले स्थानीय बासिन्दासँग संवाद गर्दै आफ्ना योजना, प्रतिबद्धता तथा क्षेत्रको समग्र विकासका लागि गर्ने पहलबारे जानकारी गराउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगार सिर्जना तथा युवाहरूको सशक्तिकरणलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभयो।
उहाँले मतदातालाई आगामी निर्वाचनमा आम जनता पार्टीको चुनाव चिन्ह ‘मोबाइल’ छापमा मोहर लगाई विजयी गराउन आग्रह गर्नुभयो। “यो निर्वाचन जनताको अधिकार, विकास र परिवर्तनको आधार हो। यहाँका जनताको अपेक्षा पूरा गर्न म प्रतिबद्ध छु,” उहाँले भन्नुभयो।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार ईस्तखारलाई सकारात्मक प्रतिक्रिया दिँदै विकासमुखी नेतृत्वको आवश्यकता औंल्याएका थिए। विभिन्न टोल तथा बस्तीमा पुगेको अभियान टोलीलाई स्थानीयले स्वागत गर्दै समर्थन व्यक्त गरेका छन्।
आम जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूका अनुसार क्षेत्रका विभिन्न स्थानमा घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइनेछ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार ईस्तखारको पक्षमा जनसमर्थन बढ्दै गएको पार्टीले दाबी गरेको छ।
आगामी निर्वाचनमा पर्सा क्षेत्र नं. ३ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ भने उम्मेदवारहरू चुनावी अभियानलाई तीव्र पारिरहेका छन्।
