उम्मेदवारसँग सशस्त्र प्रहरीको ‘ह्वाट्सएप कनेक्ट’: पर्सामा निर्वाचन सुरक्षा समन्वय थप प्रभावकारी

समाचार

पर्सा, ९ फागुन ।
२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले उम्मेदवारहरूसँग प्रत्यक्ष सम्पर्कको नयाँ शैली अपनाएको छ। गणले चारैवटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई ह्वाट्सएपमार्फत निर्वाचन सुरक्षा सम्बन्धी जानकारी, सम्पर्क नम्बर र समन्वयका लागि सन्देश पठाएर सुरक्षा समन्वयलाई थप चुस्त बनाएको हो।

फागुन ५ गते मंगलबार बिहान ११:०० बजे पठाइएको उक्त सन्देशमा नं. १३ गण अन्तर्गतका निर्वाचन सुरक्षा बेश र कमाण्डरहरूको सम्पर्क नम्बरसमेत समावेश गरिएको थियो। सन्देशमार्फत उम्मेदवारहरूलाई निर्वाचन सुरक्षा सम्बन्धी गतिविधि, कार्यक्रम र सूचनाहरू ह्वाट्सएपमार्फत आदानप्रदान गर्न अनुरोध गरिएको थियो।


निर्वाचन सुरक्षा बेश नं. १ का प्रमुख डीएसपी विकास अधिकारीका अनुसार अधिकांश उम्मेदवारहरूले सन्देश हेरेर प्रतिक्रिया जनाइसकेका छन् भने केही उम्मेदवारहरूले आफ्नो चुनावी कार्यक्रमसमेत ह्वाट्सएपमार्फत पठाउन सुरु गरेका छन्। “यसले सशस्त्र प्रहरी र उम्मेदवारहरूबीच निरन्तर सम्पर्क कायम रहन्छ, सुरक्षा व्यवस्थापन सहज हुन्छ र कुनै घटना भए तुरुन्तै प्रतिक्रिया दिन सकिन्छ,” उनले बताए।

सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सूचना अधिकारी तथा निर्वाचन सेल प्रमुख डीएसपी मोहनराज निरौलाले सामाजिक सञ्जालको प्रयोगले निर्वाचन सुरक्षामा सकारात्मक प्रभाव पारेको बताए। उनका अनुसार पर्साका चारै निर्वाचन क्षेत्रमा डीएसपीको कमाण्डमा निर्वाचन सुरक्षा बेश स्थापना भइसकेको छ। हाल जिल्लाभर १६ वटा स्ट्राइकिङ टोली, ३२ वटा मोबाइल टोली र ३८५ जना निर्वाचन सशस्त्र प्रहरी परिचालन भइसकेका छन्।

गणपति एसपी मोहनबहादुर क्षेत्रीले आधुनिक प्रविधिको प्रयोगले उम्मेदवार र सुरक्षा निकायबीच समन्वय प्रभावकारी बनेको बताए। उनले भने, “हामी मतदाता र उम्मेदवारहरूको सुरक्षाका लागि २४ सै घण्टा तयारी अवस्थामा छौं। सामाजिक सञ्जालमार्फत सूचना आदानप्रदानले सुरक्षा व्यवस्था थप प्रभावकारी बनेको छ।” उनका अनुसार जिल्लाभर सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासँग समन्वय गरी संयुक्त तथा एकल रूपमा पैदल र मोबाइल गस्तीसमेत सञ्चालन भइरहेको छ।

सशस्त्र प्रहरी बल, नेपालले निर्वाचन सुरक्षालाई व्यवस्थित बनाउन प्रधान कार्यालयमा केन्द्रीय निर्वाचन सेल तथा प्रदेश, गण र गुल्म स्तरसम्म निर्वाचन सेल गठन गरी परिचालन गरिरहेको छ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टका अनुसार देशभर १६५ वटा निर्वाचन सुरक्षा बेश, ५४१ वटा स्ट्राइकिङ टोली र १,२५२ वटा मोबाइल गस्ती परिचालन गरिएको छ। कार्यालय सुरक्षामा खटिएका बाहेक देशभर करिब ३४ हजार सशस्त्र प्रहरी कर्मचारी निर्वाचन सुरक्षाका लागि फिल्डमा खटिएका छन्।

सामाजिक सञ्जालमार्फत उम्मेदवारसँग प्रत्यक्ष समन्वय गर्ने यो पहलले पर्सामा निर्वाचन सुरक्षा थप प्रभावकारी, समन्वयात्मक र विश्वसनीय हुने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *