सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न आवश्यक : प्रहरी महानिरीक्षक दान बहादुर कार्की

समाचार

काठमाडौं, २२ फागुन । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी कर्मचारीहरूले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण र प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा अझ उच्च अनुशासन, निष्ठा र व्यावसायिकता प्रदर्शन गर्न आवश्यक रहेको बताउनुभएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत प्रतिनिधि सभा सदस्य निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुका बारेमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिने क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो।

उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रिया शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले उच्च मनोबल र जिम्मेवारीबोधका साथ देखाएको व्यावसायिकता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावना र समन्वयका साथ आफूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको समेत उहाँले बताउनुभयो।

प्रहरी महानिरीक्षक कार्कीले विशेषगरी मतगणनास्थलमा देखिन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सूचना संकलनलाई प्राथमिकतामा राख्न र आवश्यक सुरक्षा रणनीति सहित प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो। मतगणना प्रक्रिया, परिणाम घोषणा तथा विजयी दलले गर्ने र्‍याली, जुलुस लगायतका गतिविधिमा कुनै पनि सुरक्षा कमजोरी हुन नदिन थप संवेदनशील भएर काम गर्न उहाँले आग्रह गर्नुभयो।

त्यसैगरी सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक सूचना फैलाउने गतिविधि रोक्न सक्रिय रूपमा निगरानी बढाउन र त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिनुभयो।

प्रहरी महानिरीक्षक कार्कीले कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने बताउनुभयो। साथै सामाजिक सञ्जालको प्रयोगदेखि लिएर आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा तटस्थ, इमानदार र प्रतिबद्ध भएर उच्च व्यावसायिकता प्रदर्शन गर्न पनि निर्देशन दिनुभयो।

निर्वाचन ड्युटीमा खटिएका निर्वाचन प्रहरीप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिँदै उहाँले उनीहरूको उचित व्यवस्थापन तथा सेवा–सुविधामा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो।

उक्त भर्चुअल कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो। साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयहरू तथा निर्वाचन सुरक्षामा खटिएका विभिन्न इकाइका प्रमुख र प्रतिनिधिहरूको पनि भर्चुअल सहभागिता रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *