अहमदाबाद ,२५ फागुन । भारतले न्युजिल्याण्डलाई पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्याण्डलाई ९६ रनले हराउँदै कीर्तिमानी तेस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको हो।
यससँगै भारत लगातार दोस्रो पटक च्याम्पियन बन्ने पहिलो राष्ट्रसमेत बनेको छ। यसअघि भारतले सन् २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा आयोजित विश्वकप पनि जितेको थियो।
भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९ ओभरमै अलआउट हुँदै १५९ रनमा समेटियो। न्युजिल्याण्डका लागि ओपनर टिम साइफर्टले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले। उनले २६ बलमा २ चौका र ५ छक्का प्रहार गरेका थिए। कप्तान मिचेल स्यान्टेनरले ३५ बलमा ४३ रन जोड्दै टोलीलाई सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
भारतका लागि जसप्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने अक्षर पटेलले ३ विकेट लिए।
यसअघि टस जितेर बलिङ रोजेको न्युजिल्याण्डविरुद्ध पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल तयार गरेको थियो। भारतका सुरुवाती तीनै ब्याटरले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए।
सञ्जु स्यामसनले सर्वाधिक ८९ रन बनाए। उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरे। पहिलो विकेटका लागि स्यामसन र अर्का ओपनर अभिषेक शर्माबीच ४३ बलमा ९८ रनको आक्रामक साझेदारी भएको थियो। शर्मा २१ बलमा ६ चौका र ३ छक्कासहित ५२ रन बनाउँदै आउट भए।
तेस्रो विकेटका लागि स्यामसन र इशान किशनबीच ४८ बलमा १०५ रनको शतकीय साझेदारी भयो। किशनले ४ चौका र ४ छक्काको सहयोगमा ५४ रन बनाए।
न्युजिल्याण्डका लागि जिम्मी निशमले १६औँ ओभरमा महत्वपूर्ण ३ विकेट लिएर केही समय भारतको रनगति रोक्ने प्रयास गरेका थिए। भारतका कप्तान सूर्यकुमार यादव रनको खाता नखोल्दै आउट भए। हार्दिक पाण्ड्या १३ बलमा १८ रन बनाएर आउट हुँदा शिवम दुबे २६ रनमा अविजित रहे।
न्युजिल्याण्डका लागि जिम्मी निशमले ३ विकेट लिए भने रचिन रविन्द्र र म्याट हेनरीले समान १–१ विकेट लिए।
यसअघि पनि सन् २०२१ को टी–२० विश्वकप फाइनलमा न्युजिल्याण्ड अस्ट्रेलियासँग पराजित हुँदै उपविजेतामै सीमित भएको थियो। यस पटक पनि न्युजिल्याण्डले दोस्रो पटक फाइनल खेलेर उपविजेतामा चित्त बुझाउनुपरेको छ।
