जेनजी आन्दोलन प्रकरण : कार्की आयोग प्रतिवेदन कार्यान्वयन सुरु, पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

समाचार

काठमाडौं, १४ चैत ।
नवनियुक्त गृहमन्त्री सुधन गुरूङको सक्रियतासँगै जेनजी आन्दोलनसँग सम्बन्धित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।

मन्त्रिपरिषद्को निर्णयपछि सो प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी कदमसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
गृहमन्त्री गुरूङले शुक्रबार पदभार ग्रहण गर्दै आयोगको प्रतिवेदन कार्यान्वयन गरिने स्पष्ट संकेत दिएका थिए। पदभार सम्हालेलगत्तै उनले जेनजी आन्दोलनका शहीद तथा घाइतेका परिवारसँग भेटघाट गर्नुका साथै शहीदको सम्मानमा एक मिनेट मौन धारण गराएका थिए।

सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। सुरक्षा निकायसँग सम्बन्धित विषयमा थप अध्ययनका लागि समिति गठन गरिने र अन्य सिफारिसहरू तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरिएको जनाइएको छ।

निर्णयपछि गृहमन्त्री गुरूङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहित उच्च सुरक्षा अधिकारीसँग विस्तृत छलफल गरेका थिए। त्यसपछि सुरक्षा निकायलाई तत्काल कार्यान्वयनमा जान निर्देशन दिइएको थियो।

प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल मुख्यालयले राति नै देशभरका सुरक्षाकर्मीलाई हेडक्वार्टरमा उपस्थित हुन सर्कुलर जारी गरेका थिए भने काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाइएको थियो।

स्रोतका अनुसार सुरक्षाकर्मीहरूले कानुनी प्रक्रियाअनुसार अदालतबाट पूर्जी लिएर अघि बढ्न सुझाव दिए पनि गृहमन्त्री गुरूङले तत्काल पक्राउ गर्नुपर्ने अडान राखेका थिए। त्यसपछि कानुनी परामर्श लिएर लिखित आदेश जारी गरिएसँगै पक्राउ प्रक्रिया अघि बढाइएको हो।

शुक्रबार रातिदेखि नै पूर्वप्रधानमन्त्री ओलीको भक्तपुरस्थित निवास गुण्डु र रमेश लेखकको निवास कटुन्जे क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गरिएको थियो। लिखित आदेशपछि शनिबार बिहान प्रहरीले दुबैलाई पक्राउ पुर्जी थमाएको हो।

रमेश लेखकलाई बिहान करिब ५:४५ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो भने पूर्वप्रधानमन्त्री ओलीलाई बिहान ६:१० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउका क्रममा कुनै अप्रिय घटना नभएको र दुबै जना सामान्य रूपमा प्रहरीसँग सहकार्य गरेको एक अधिकृतले बताएका छन्।

पक्राउपछि दुबै जनालाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ। पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ। स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएपछि उनीहरूलाई हिरासतमा राख्ने तयारी गरिएको छ।

शनिबार सार्वजनिक बिदा परेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउन नसकिने हुँदा दुबै जना आज दिनभर हिरासतमा रहने सम्भावना रहेको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँका कारण ज्यान गएको घटनामा संलग्न रहेको अभियोग लागेको छ। सो घटनाको छानबिन गर्न गठित कार्की आयोगले कारबाही सिफारिस गरेको थियो।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त पक्राउलाई प्रतिशोधपूर्ण भन्दै विरोध जनाउने तयारी गरेको छ। अन्य केही सरोकारवालाहरूले पनि यस घटनालाई राजनीतिक प्रेरित कदमका रूपमा टिप्पणी गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *