काठमाडौं, चैत १६। गृहमन्त्री सुधन गुरूङ ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरी संगठनलाई व्यावसायिक, जनमुखी र प्रविधिमैत्री बनाउन निर्देशन दिनुभएको छ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरूङलाई दान बहादुर कार्की नेतृत्वको टोलीले स्वागत गरेको थियो। सो अवसरमा उहाँले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो।
गृहमन्त्री गुरूङले प्रहरी सङ्ग्रहालय, डिजिटल फरेन्सिक प्रयोगशाला, आर्टिफिसियल इन्टेलिजेन्स तथा एडभान्स एनालिटिक्स सेल, डाटा सेन्टर र पोलीग्राफ सेक्सनको अवलोकन गर्दै ती निकायहरूको कार्यसम्पादनबारे जानकारी लिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। आगामी दिनमा थप आत्मविश्वासका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिँदै उहाँले प्रहरी कार्यमा कुनै पनि प्रकारको अनुचित हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो।
उहाँले प्रहरी र नागरिकबीचको दूरी घटाउन शिष्ट व्यवहार, प्रभावकारी सेवा प्रवाह र जनविश्वास अभिवृद्धिमा जोड दिनुभयो। उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै नागरिकमैत्री सेवा विस्तार गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।
विपद् व्यवस्थापनमा प्रहरीको अग्रपंक्तिको भूमिकालाई थप सुदृढ बनाउन आवश्यक साधनस्रोत र तालिमको व्यवस्था गरिने उल्लेख गर्दै गृहमन्त्री गुरूङले प्रहरी संगठनलाई समयानुकूल आधुनिकीकरण र सुदृढीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ ले प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरीको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले बदलिँदो परिस्थितिअनुसार कार्यशैली सुधार गरी छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो।
यसैगरी, प्रहरी महानिरीक्षक कार्कीले संविधान र कानुनको परिधिभित्र रही मानवअधिकारको सम्मान गर्दै सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। प्रहरीको क्षमता अभिवृद्धि, स्रोतसाधन विस्तार र संगठनात्मक सुदृढीकरणमा गृहमन्त्रीबाट प्राप्त निर्देशन महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले संगठनको संरचना, जनशक्ति, अपराध अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय तथा आगामी कार्यदिशासहितको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रममा गृह मन्त्रालयका पदाधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू तथा देशभरका विभिन्न प्रहरी इकाइबाट भर्चुअल सहभागिता रहेको थियो।
