विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनका लागि सशस्त्र प्रहरीको तालिम सम्पन्न

समाचार

पर्सा, १७ चैत । पर्सा जिल्लालगायत देशका विभिन्न स्थानमा हुने प्राकृतिक तथा मानवजन्य विपद् न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको समुदायस्तरीय “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम” सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सामा सञ्चालन गरिएको उक्त तालिम मिति २०८२ फागुन  २५ गतेदेखि सुरु भई आज अन्तिम प्रवचन कार्यक्रमसँगै सम्पन्न भएको हो। तालिमको उद्देश्य विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा रहेका स्वयंसेवक तथा विपद् सूचकहरूलाई थप दक्ष बनाउँदै आकस्मिक अवस्थामा प्रभावकारी रूपमा परिचालन गर्नु रहेको जनाइएको छ।

बढ्दो शहरीकरणसँगै भूकम्प, बाढी, डुबान, पहिरो, महामारी तथा सवारी दुर्घटनाजस्ता विपद्का घटनाहरू बढ्दै गइरहेका सन्दर्भमा पूर्वतयारी, जनचेतना र तालिमको आवश्यकता झन् महत्वपूर्ण बन्दै गएको सशस्त्र प्रहरीले जनाएको छ।

गर्मी याम (चैत–वैशाख) सुरु भएसँगै आगलागीका घटनाहरू बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै तालिममा आगलागी नियन्त्रण तथा सुरक्षा उपायसम्बन्धी विशेष अभ्यास गराइएको थियो। आगलागी जस्ता आकस्मिक तथा जोखिमपूर्ण अवस्थाहरूमा छिटो, सुरक्षित र प्रभावकारी प्रतिक्रिया दिन सक्ने क्षमताको विकासमा जोड दिइएको थियो।

तालिमअन्तर्गत विभिन्न व्यवहारिक अभ्यासहरू गराइएको थियो। जसमा किचेन फायर फाइटिङ (ग्यास सिलिन्डरमा लागेको आगो नियन्त्रण), ज्वलनशील पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल) मा लागेको आगो नियन्त्रण तथा घाइतेको प्राथमिक उपचार, साथै सामान्य तथा ठूला भवनमा लागेको आगो नियन्त्रणसम्बन्धी प्रदर्शन समावेश थिए।

तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो भने प्रमुख प्रशिक्षकका रूपमा सशस्त्र प्रहरी निरीक्षक निरज थापाले प्रशिक्षण दिएका थिए।

यसका अतिरिक्त तालिममा भूकम्पबाट जोगिने उपाय, बाढी तथा पहिरोबाट बच्ने तरिकाबारे पनि सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार यस्ता तालिमले समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *