बिरगंज, ३० चैत
सशस्त्र प्रहरी बल नेपालले पर्सामा लाखौं रुपैयाँ मूल्य बराबरका भन्सार छलिका कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म मुख्यालय वीरगंज पर्साका डीएसपी शम्भु कटुवालको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१६ नगवा डम्पिङ एरियाबाट ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको हो।
बरामद गरिएका विभिन्न प्रकारका कपडा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामानको मूल्य लाखौं रुपैयाँ पर्ने अनुमान गरिएको छ। उक्त कपडा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि निगरानी तथा गस्तीलाई अझ कडाइका साथ अघि बढाएको जनाएको छ।
