वीरगञ्ज ,२४ बैशाख । पर्सा प्रहरीले छिपहरमाई गाउँपालिकामा सञ्चालन हुँदै आएको अवैध घरेलु मदिरा भट्टीमा छापा मार्दै ठूलो परिमाणमा कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरेको छ।
विशेष सूचनाको आधारमा मिति २०८३ वैशाख २२ गते दिउँसो करिब २:२० बजे जिल्ला पर्सा छिपरमाई गाउँपालिका–२ टिउकी क्षेत्रमा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको जानकारीपछि जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी टिउकी र प्रहरी चौकी बूढगाईबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त भट्टीमा छापा मारेको हो।
प्रहरी टोलीले सञ्चालनमा रहेको मदिरा भट्टी फुटाएर त्यहाँ रहेको करिब ६०० लिटर कच्चा पदार्थ तथा तयारी अवस्थामा रहेको २०० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रणका लागि जिल्लाभर निगरानी र कारबाहीलाई थप कडा बनाइएको छ।
