वीरगञ्ज, २६ वैशाख ।
जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साको संयुक्त आयोजनामा लागुऔषध दुर्व्यसन नियन्त्रण तथा सचेतना अभियानलाई तीव्र बनाइएको छ।
“लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान–२०८३” अन्तर्गत शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेटमा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, श्री श्रीजंग गण पर्साका सेनानी प्रभाकर सिलवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, सशस्त्र प्रहरी बल बिरगंज भन्सार गुल्मका डिएसपी बिकास अधिकारी लगायत स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्था, समाजसेवी, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा कडा निगरानी बढाइएपछि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा शंकराचार्य गेट नजिकै स्वास्थ्यकर्मी तथा लागुऔषध परीक्षण किटसहित विशेष चेकपोष्ट स्थापना गरिएको थियो। उक्त चेकपोष्टमार्फत शुक्रबारदेखि सुरु गरिएको अभियान अन्तर्गत सार्वजनिक स्थानमा लागुऔषध सेवन गरी हिँडिरहेका ८ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा काउन्सिलिङ गरी सुधार प्रक्रियामा लैजाने तयारी गरिएको छ। सुरक्षा निकायले यो अभियानलाई केवल पक्राउमा सीमित नराखी दुर्व्यसनमा फसेका युवाहरूलाई सुधार र पुनःस्थापनातर्फ केन्द्रित गरिएको जनाएको छ।
यसैबीच, वीरगञ्ज भन्सार क्षेत्रमा सशस्त्र प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गर्न सफल भएको छ। सशस्त्र प्रहरी बलको वीरगञ्ज भन्सार गुल्मबाट डिएसपी विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले शुक्रबार साँझ नियमित चेकजाँचका क्रममा ठूलो सफलता हात पारेको हो।
सशस्त्र प्रहरीका अनुसार मिति २०८३ वैशाख २५ गते साँझ करिब ५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित वीरगञ्ज भन्सार कार्यालयको मुख्य गेट अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको यात्रुवाहक अटोमा सवार दुई जनालाई शंकाको आधारमा नियन्त्रणमा लिएर खानतलासी गरिएको थियो।
तलासीका क्रममा उनीहरूको साथबाट करिब ५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ तथा ०.३४ मिलिग्राम सेतो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाईएको जानकारी दिइएको छ।
पर्सा जिल्लामा पछिल्लो समय लागुऔषध ओसारपसार, सेवन तथा दुर्व्यसन नियन्त्रणका लागि प्रहरी, सशस्त्र प्रहरी र प्रशासनले संयुक्त रूपमा अभियान सञ्चालन गर्दै आएका छन्। खुला सीमाका कारण भारतबाट लागुऔषध भित्रिने क्रम बढ्दै गएपछि सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको सुरक्षा निकायले जनाएको छ।
सुरक्षा अधिकारीहरूले युवापुस्तालाई लागुऔषध दुर्व्यसनबाट जोगाउन अभिभावक, विद्यालय, समाज र स्थानीय तहको समेत सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने र सीमा क्षेत्रमा चेकजाँचलाई थप कडाइ गरिने सुरक्षा निकायले स्पष्ट पारेको छ।
