सिमावर्ती क्षेत्रमा लागूऔषध विरुद्ध सशक्त अभियान : सशस्त्र प्रहरी बाराद्वारा विद्यालयदेखि समुदायसम्म जनचेतना कार्यक्रम सञ्चालन

समाचार

बारा,३ जेठ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा., बाराले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा समाजमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न सिमावर्ती क्षेत्र, विद्यालय तथा समुदायमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। “सिमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका यी गतिविधिहरूले विशेषगरी विद्यार्थी, युवावर्ग तथा स्थानीय समुदायलाई लक्षित गर्दै लागूऔषधको दुरुपयोगबाट हुने सामाजिक, मानसिक तथा स्वास्थ्यजन्य असरबारे जानकारी प्रदान गरेको हो।

सशस्त्र प्रहरी बाराका सूचना अधिकारी डिएसपी बिक्रम मणि अधिकारीका अनुसार पछिल्लो समय लागूऔषध दुर्व्यसनका घटनामा वृद्धि हुन थालेपछि त्यसको रोकथामका लागि समुदायस्तरमै पुगेर सचेतना कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिइएको हो। उनले सीमावर्ती क्षेत्रका विद्यालय तथा सार्वजनिक स्थलहरूमा नियमित रूपमा प्रशिक्षण, अन्तर्क्रिया तथा माइकिङ कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

प्राप्त विवरण अनुसार २०८३ साल वैशाख २४ गते सीमा सुरक्षा गुल्म हे.क्वा. पिपरपातीद्वारा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजानीमा ४० जना विद्यार्थी तथा स्थानीय सहभागीहरूलाई लागूऔषध नियन्त्रण सम्बन्धी कक्षा सञ्चालन गरिएको थियो। सोही दिन सीमा सुरक्षा गुल्म हे.क्वा. मटिअर्वाले श्री दुर्गा माध्यमिक विद्यालय बरेबामा ६० जना सहभागीलाई प्रशिक्षण प्रदान गरेको जनाएको छ।

त्यसैगरी वैशाख २५ गते विभिन्न सीमा सुरक्षा पोस्ट तथा बीओपीहरूले समेत विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएका थिए। वि.ओ.पी. कब्हिगोठ ले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कब्हिगोठ जगतमा १०७ जना विद्यार्थीलाई लागूऔषधको दुष्परिणामबारे जानकारी गराएको थियो। त्यस्तै वि.ओ.पी. बेनौलीले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेनौलीमा ३५ जना, वि.ओ.पी. बरैनियाले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय छत्तवामा ७० जना तथा वि.ओ.पी. गोलांगज ले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बसविरियामा ५० जना विद्यार्थीहरूलाई लागूऔषधविरुद्ध जनचेतनामूलक प्रशिक्षण दिएको जनाएको छ।

यस्तै, वैशाख २९ गते वि.ओ.पी. बेल्दारीले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बेल्दारीमा ६० जना सहभागीलाई लक्षित गरी सचेतनामूलक कक्षा सञ्चालन गरेको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको बताइएको छ।

यसैबीच जेठ २ गते वि.ओ.पी. मटिअर्वाले मटिअर्वा क्षेत्रमा लागूऔषध दुर्व्यसनविरुद्ध माइकिङसहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। सार्वजनिक स्थल तथा बस्तीहरूमा माइकिङमार्फत लागूऔषध सेवनका कारण समाजमा पर्ने नकारात्मक प्रभाव, अपराध वृद्धि, स्वास्थ्यमा पर्ने असर तथा युवापुस्तामा देखिने विकृतिबारे जानकारी गराइएको थियो।

कार्यक्रमका क्रममा सशस्त्र प्रहरीका अधिकृतहरूले लागूऔषध सेवनले व्यक्ति, परिवार तथा समाजमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। उनीहरूले विशेषगरी युवावर्गलाई कुलतबाट टाढा रहन, असामाजिक गतिविधिबाट बच्न तथा सचेत नागरिक बन्न आग्रह गरेका थिए।

सशस्त्र प्रहरी बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिशाल सिलवालका अनुसार कार्यक्रमहरूको मुख्य उद्देश्य सीमावर्ती क्षेत्रमा लागूऔषध दुर्व्यसन न्यूनीकरण गर्नुका साथै विद्यालय तहदेखि नै विद्यार्थीहरूमा सकारात्मक चेतना विकास गर्नु रहेको छ। उनले समाजमा शान्ति, सुरक्षा र स्वस्थ वातावरण कायम राख्न यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए।

सशस्त्र प्रहरी बलले पछिल्लो समय सीमा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण, युवापुस्तामा बढ्दो दुर्व्यसन न्यूनीकरण तथा समुदाय–प्रहरी सहकार्यलाई सुदृढ बनाउन विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्थानीयवासीहरूले समेत यस्ता कार्यक्रमले विद्यार्थी र युवाहरूलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *