मकवानपुर, ३० असार। अविरल वर्षाका कारण मकवानपुरको भीमफेदी गाउँपालिका–१ बाघझोरास्थित हेटौँडा–भीमफेदी–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मुख्यालय मकवानपुरको टोलीले सडक सञ्चालनमा ल्याएको छ।
मिति २०८३ असार २९ गते साँझ करिब ४:०० बजे बाघझोरा खोलामा पानीको बहाव बढेर सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरीको टोलीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताबाट अवरोध हटाई यातायात पुनः सञ्चालनमा ल्याएको हो।
सडक खुलेसँगै बीच बाटोमै अलपत्र परेका सवारी साधन तथा यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
मनसुनजन्य विपद्का घटनामा जनधनको सुरक्षा तथा यातायात सहज बनाउन सशस्त्र प्रहरी बल निरन्तर उद्धार, राहत र सडक सञ्चालनका कार्यमा सक्रिय रहेको छ।
