वीरगञ्जमा सशस्त्र प्रहरीको छापामारी, ३ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

समाचार

वीरगञ्ज, असार ३०। पर्साको वीरगञ्ज महानगरपालिका–१, छपकैया सुकुम्बासी टोलमा सशस्त्र प्रहरी बल, नेपालले विशेष सूचनाको आधारमा छापामारी गरी करिब ३ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका अनुसार सोमबार दिउँसो १२:४५ बजे भारतबाट भन्सार छली गरी ल्याइएका कपडाहरू विभिन्न घरमा लुकाइराखिएको सूचनाका आधारमा सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

उक्त अभियानमा इलाका प्रहरी कार्यालय छपकैयाको प्रहरी टोली तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसमेत सहभागी थिए। संयुक्त टोलीले १० वटा गोठ र ११ वटा फुसका घरमा खानतलासी गर्दा मेलु साह तुराहाको घरभित्र पलङको प्लाइमुनी लुकाएर राखिएको ४ पोका सुटिङ तथा थानका कपडा र गोठमा भुसभित्र लुकाइएको १ पोका कुर्ता–सुरुवालका कपडा फेला पारेको हो।

बरामद भएका जम्मा ५ पोका कपडाको अनुमानित मूल्य ३ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमा क्षेत्रमा भन्सार छली तथा अवैध आयात नियन्त्रणका लागि यस्ता निगरानी र छापामारी अभियानलाई निरन्तरता दिइने जानकारी दिएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *